९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वडाध्यक्षले लगाए यशोधरा गाउँपालिकाको लेखा शाखामा ताला



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुको यशोधरा गाउँपालिकाको लेखा शाखामा वडा नम्बर ५ का अध्यक्ष लईस पठानले तालाबन्दी गरेका छन् । लेखा अधिकृत निराजन लम्सालले जनप्रतिनिधि र सेवाग्राहीलाई अनावश्यक दुःख दिएको भन्दै पठानले लेखा शाखामा ताला लगाएका हुन् ।

गाउँपालिकाद्वारा सञ्चालित विकास निमार्णको काममा लेखा शाखाले अनावश्यक दुःख दिने र समयमा काम नगरकोले ताला लगाएको पठानले बताए । उपभोक्ता समितिले सम्पन्न गरेको कामममा भुक्तानी दिन ढिलाई गरेको र पटकपटक आग्रह गरे पनि सुनुवाई नभएको उनले आरोप लगाए ।

यशोधरा गाउँपालिकाको लेखा शाखामा तालाबन्दी गरिदै ।

‘लेखा अधिकृत बनेर आएदेखि गाउँपालिकामा लेखा शाखाले राम्रो काम गरेको छैन, हामीले पटकपटक आग्रह गरे पनि कुनै मतलब राखिदैन’ उनले भने । लेखामा कर्मचारीहरु नियमित उपस्थीत नहुने र लेखाका कारण निर्वाचित जनप्रतिनिधिलाई काम गर्न असजिलो भएकाले तालाबन्दी गर्नुपरेको उनले बताए । उपयुक्त निकास ननिस्किएसम्म तालाबन्दी कायम रहेने उनले बताए ।

करिब एक वर्षअघि लम्साल लेखा अधिकृतका रुपमा गाउँपालिका आएका थिए । उनी आएको केही दिनदेखि नै लेखा शाखा र जनप्रतिनिधिहरुबीच कुरा नमिलेको गाउँपालिका श्रोतले जनाएको छ । बिभिन्न योजना, कार्यक्रम लगायतको भुक्तानीमा गाउँपालिका अध्यक्ष गिरुजेश पाण्डेय र लेखा अधिकृत लम्सालबीच मनमुटाव रहँदै आएको छ । गाउँपालिका अध्यक्ष पाण्डेयले लम्सालाई सरुवा गराउन पटकपटक पहल गरेको श्रोतको दाबी छ ।

पछिल्लो पटक ५४ हजारको खरिद गरिएको मोबाइलको भुक्तानी गर्न नमानेपछि झनै बिवाद बढेको थियो । त्यही विषयलाई लिएर अहिले तालाबन्दी गरिएको गाउँपालिकाका एक श्रोतले जनाएका छन् । उता गाउँपालिका अध्यक्ष पाण्डेयले घटनाप्रति दुःख ब्यक्त गर्दै दुबै पक्षलाई मिलाउन पहल गर्ने दाबी गरे । यता लेखा अधिकृत लम्सालले आफू बिरामी बिदामा रहेको बेला तालाबन्दी गरिएकाले यसबारे आफूलाई केही जानकारी नभएको दाबी गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : २९ बजे