९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुको बुड्डी र महेन्द्रकोट स्थायी राजधानीको लागि प्रस्ताव !



मायादेवी अनलाइन, कपिलवस्तु ।
प्रदेशको स्थायी राजधानी कपिलवस्तु हुनु पर्छ भन्ने छलफलले औपचारिकता पाएको छ । प्रदेश सभाद्धारा प्रदेशको स्थायी राजधानी र नामाकरणका लागि गठित विशेष समितिले कपिलवस्तुलाई प्रदेशको राजधानी बनाउनका लागि प्रस्ताव गरेको छ । प्रदेश सरकार गठन भएको दुई बर्ष पूरा भई तेस्रो बर्षमा लागिसक्दा पनि नाम र स्थायी राजधानी टुंगाउन नसकेको अवस्थामा कपिलवस्तु विकल्पमा आएको छ ।
स्थायी राजधानीका लागि रुपन्देही र दाङको चर्चा चलेको अवस्थामा कपिलवस्तु विकल्पमा आएपछि राजनीतिवृत्त तातेको छ । केही समय अगाडी एक अन्तर्वार्तामा मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको राजधानी ‘भर्जिन ल्यान्ड’मा हुने बताउनु र विशेष समितिले कपिलवस्तुका दुई ठाउँ राजधानीका विकल्पका रुपमा रहन सक्छन् भन्नुले कपिलवस्तु राजधानी बन्न तर्फ उन्मुख भएको हो ।
विशेष समितिले सुझावसहितको प्रतिवेदन प्रदेश सभा सचिवालयमा दर्ता गराएपछि कपिलवस्तुले औपचारिक प्रवेश पायो । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको बुड्डी र महेन्द्रकोट प्रदेशको सम्भावित राजधानीका रुपमा आएका छन् ।
यस्तै मुख्यमन्त्रीले संकेत गरेका भर्जिन ल्यान्डमा दाङको भालुबाङ, रूपन्देहीको सैनामैना नगरपालिकाको लमतैया, देउपार, पीपलडाँडा पनि राजधानीका विकल्पका रुपमा आएका छन् । भालुवाङ यस अगाडी नै पटक पटक राजधानीका लागि चर्चामा आएको स्थान हो भने कपिलवस्तुको महेन्द्रकोट र बुढ्डीसहितका क्षेत्रहरु नयाँ हुन् ।
चर्चामा आएका दाङ र बुटवल भने समितिले छाँयामा राखेको छ । ‘कपिलवस्तुअन्तर्गत पूर्वपश्चिम राजमार्गको गोरुसिंगे क्षेत्र नकिजको बुड्डीचोक र महेन्द्रकोट आसपास तोकिन सक्छ,’ नेकपाका राप्तीबाट निर्वाचित एक प्रदेश सभा सदस्यले भने ।
स्थायी राजधानी र नामकरण सिफारिस समिति सदस्य कपिलवस्तुका विष्णु पन्थीले सहमतिबिना राजधानीको टुंगो नलाग्ने र राजनीतिक सहमतिको केन्द्र कपिलवस्तुमात्र रहेको जिकिर गर्नुभयो । ‘कपिलवस्तु सहमतिको भूमि हो,’ उहाँले भन्नुभयो, ‘कपिलवस्तुभित्र कुन स्थान भन्नेमा विवाद हुन सक्ला तर प्रदेशको केन्द्र हुनेमा विवाद छैन ।’ संविधानअनुसार नामकरण र स्थायी राजधानीका लागि आवश्यक दुईतिहाइ संख्यामा पनि कपिलवस्तु निर्णायक बन्न सक्ने उहाको दाबी छ ।
प्रदेश सभामा ८७ सदस्य छन । राजधानीका लागि दलीय संख्याभन्दा पनि पुरानो अञ्चल अनुसारको मनोविज्ञान बढी हावी छ । लुम्बिनी, राप्ती र भेरीको भूगोलअनुसार मत विभाजित छ । लुम्बिनी अञ्चलबाट ५२, राप्तीबाट १८ र भेरीबाट १७ प्रदेश सभा सदस्य छन । प्रदेश सभामा मतदान हुँदा दुईतिहाइ पुग्न ५८ मत आवश्यक पर्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ८ : २० बजे