९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

ज्ञानपुञ्ज बोर्डिङले वृक्षरोपण गरी प्रजातन्त्र दिवस मनायो



मायादेवी अनलाइन, कपिलवस्तु ।
६९ औँ प्रजातन्त्र दिवसको अवसरमा बाणगंगा २ राजपुरमा रहेको ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कुलले वृक्षरोपण गरेको छ । ज्ञानपुञ्ज बाल संजालको आयोजनामा भएको वृक्षरोपणमा विद्यार्थीहरु, विद्यालय ब्यवस्थापन समिति सदस्य, शिक्षक र कर्मचारीको सहभागिता रहेको थियो । विद्यालयको वगलमा वहुमुल्य विरुवाहरु साइक्याड र धुपी लगायतका विरुवाहरु रोपिएको थियो ।

वृक्षरोपणपछि कार्यक्रममा बोल्दै सहभागीले शिक्षण सिकाई र प्रजातन्त्रबीच घनिष्ट सम्बन्ध रहेको बताएका छन् । विद्यालयका प्रिन्सिपल रोमाकान्त घिमिरेले प्रजातन्त्रको जगमा टेकेर मुलुकमा गणतन्त्र स्थापना भएको भन्दै अब प्रजातन्त्रको अभ्यास कक्षाकोठामा पनि अनिवार्य रुपमा हुनुपर्ने बताउनु भयो । विद्यार्थीलाई अनुशाषनको कडा काबुमा राखेर भन्दा उनीहरुलाई स्वतन्त्र ढंगबाट विचार राख्न दिने परिपाटीले मात्र शिक्षण संस्थामा प्रजातन्त्र रहेको अनुभूति हुने उहाँले बताउनु भयो ।

विद्यार्थीको पहलमा अकस्मात् कार्यक्रम राखिएकोमा धन्यबाद दिँदै हरेक विद्यार्थीले कक्षाकोठामा खुलेर आफ्ना विचार राख्नु पर्नेमा उहाँको जोड छ । सिद्धार्थ क्याम्पसका उप प्रध्यापक गोविन्द खनालले प्रजातान्त्रिक बातावरण सिर्जना नगर्ने शिक्षण संस्थामा विद्यार्थीको सर्वाङगिण विकास हुन नसक्ने बताउनु भयो ।

विद्यार्थी प्रिन्स बस्यालले विद्यार्थीहरुले पढाइ र मुलुकका परिवर्तनहरुप्रति पनि ध्यान दिन्छन्, अध्ययन गर्छन् भन्ने सन्देश दिन वृक्षरोपण गरिएको बताउनु भयो । वृक्षरोपण एउटा विम्ब भएकोले यसबाट धेरै पाठ सिक्नु पर्ने बस्यालले बताउनु भयो ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ कपिलवस्तुका संयोजक तथा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपाने, सहायक प्रिन्सिपल विनोद नेपाल, शिक्षाप्रेमी सुरेन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६ बुधबार ००:००  ७ : ४१ बजे