९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बुधबार बाणगंगाको छैठौँ नगर सभाः १३ वटा ऐन, कार्यविधि र विधेयकहरु पेश हुने कार्यसूची



मायादेवी अनलाइन, जितपुर ।
वाणगंगा नगरपालिकाको छैठौ नगर सभा बुधबार हुँदै छ । नगरपालिका भएयता पहिलोपटक आफ्नै हलमा हुने उक्त नगरसभालाई विशेष प्राथमिकता दिइएको छ । नगरको हिँउदे सभाको रुपमा रहेको यस सभामा पेश गर्ने ऐन, नियमावली र कार्यविधि पनि स्विकृत गरिएको प्रवक्ता विष्णु पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार छैठौँ नगरसभामा सहकारी सहित १३ वटा ऐन, कार्यविधि र विधेयकहरु पारित गर्ने कार्यसूची छ । सहकारीसंगै, वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण, पीपरा अस्पताललाई एम्बुलेन्स दिने, कृषि, पशु र मेलमिलाप सम्बन्धि कार्यविधि पेश हुने प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
बुधबार (भोलि) दिउँसो १ बजे सभा सुरु हुने छ । त्यसअघि विहान कार्यपालिकाको वैठक बसी बाँकी विषयवस्तुबारे छलफल हुने बताइएको छ । नगर प्रमुख मंगल प्रसाद थारुले बुधबारको सभाले स्विकृत गरेका योजनाहरुलाई छिट्टै कार्यान्वयनमा लैजाने र छिटो छरितो ढंगबाट सम्पन्न हुनेमा आशाबादी रहन नगरबासीलाई आग्रह गर्नुभयो ।
नगरसभामा पेश हुने विषयवस्तुबारे छलफल गर्न बसेको वैठकले चालु आर्थिक वर्ष ०७६÷७७ को वार्षिक समिक्षा पनि गरेको छ । नगर सभाको लागि नगरका जनप्रतिनिधि, कर्मचारी, कार्यपालीका सदस्यहरु केही दिनदेखि खटिएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ७ : १६ बजे