९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गुल्मीका जनप्रतिनिधि नै जातीय विभेदमा



गुल्मी ।
गुल्मीमा जनप्रतिनिधि नै जातीय विभेदमा पर्ने गरेको पाइएको छ । धुर्कोट गाउँपालिका ५ वस्तुकी वडासदस्य एवं गाउँकार्यपालिका सदस्य सरस्वती सुनारले जनप्रतिनिधि छुवाछूतबाट पीडित भएको बताएकी हुन् । उनले समाजमा अझै पनि दलित र गैरदलितबीच ठूलो विभेद रहेको भन्दै त्यसलाई हटाउन निकै चुनौती रहेको बताइन् ।
सदरमुकाम तम्घासमा रेसुङ्गा दलित महिला संजालद्वारा आयोजित दलित महिला प्रतिनिधिका चुनौती विषयक कार्यक्रममा बोल्ने सबैजसो दलित महिला जनप्रतिनिधिले जातीय विभेद कायम रहेको, भोजभतेर, मन्दिरलगायतका स्थानमा विभेद गरेको, वडा वा गाउँपालिकाका उच्च पदस्थले आफूहरूका कुरा नसुनेको जस्ता गुनासा गरेका थिए ।
सत्यवती गाउँपालिका ४ की सदस्य झरना परियारले वडा र गाउँपालिकाले दलितको क्षेत्रमा बजेट विनियोजन गर्न नमान्ने गरेको बताइन् । ‘अहिले दलितको लागि बजेट विनियोजन हुनैपर्ने बाध्यकारी व्यवस्था छैन, बोल्दा गाउँपालिकामा हाम्रो आवाज सुनिदैन’ उनले भनिन् । उनले आफूहरू पहिलेभन्दा अहिले निर्धक्का साथ बोल्न सक्ने भए पनि गाउँकार्यपालिकाका अन्य सदस्यले वास्ता नगरेको बताइन् ।
कार्यक्रममा सहभागि दलित महिला जनप्रतिनिधिले महिलाका पक्षमा थुप्रै काम गर्न चाहे पनि गर्न नसकेको गुनासो गरेका थिए । उनीहरू अहिले जनप्रतिनिधिमाथिको जातिय भेदभाव प्रमुख समस्या रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  ५ : १५ बजे