९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोनाभाइरसका कारण वुहान अस्पतालकै निर्देशकको निधन



वुहान ।

लिउ झिमिङ वुहानमा अस्पतालका निर्देशक थिए । संसारभर त्रास फैलाएको कोरोनाभाइरस चीनको यही सहरबाट सुरू भएको हो । कोरोनाभाइरस सुरू भएपछि उनी निर्देशक रहेको वुहान वुचाङ अस्पतालले उपचार प्रक्रियाको नेतृत्व गरेको थियो ।

अस्पतालमा खट्दाखट्दा डाक्टर लिउ आफैं बिरामी परे । उपचारको क्रममा मंगलबार उनको मृत्यु भएको चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले जनाएको छ ।

यसअघि उक्त भाइरसका कारण डाक्टर ली वेनलियाङको मृत्यु भएको थियो । ली तिनै व्यक्ति थिए जसले कोरोनाभाइरसको महामारीबारे पहिलो पटक चेतावनी दिएका थिए ।

साथीहरूसँग त्यस्तो चेतावनीबारे कुरा गरेको भनेर उनलाई प्रहरीले नियन्त्रणमा लिएर हप्काइदप्काइ गरेको थियो । पछि उनी बिरामीको उपचारमा खटिएका बेला भाइरसको संक्रमणमा परेका थिए। उनको मृत्युपछि लाखौं चिनियाँले शोक व्यक्त गरेका थिए ।

कोरोनाभाइरसबाट सोमबारसम्म १ हजार ८ सय ७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४ सय ३३ जना संक्रमित भएका छन् ।-एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  १२ : १४ बजे