९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा चोरको विगविगीः गजेहडाको एक घरमा रातभर चोरको छापा ! त्रासमा सर्वसाधारण



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा चोरको विगविगी बढेको छ । केही हप्ता अघि वाणगंगाको दरखास्त क्षेत्रमा सामुहिक चोरीको घटना सेलाउन नपाउँदै फेरी गजेहडामा चोरहरुले रातभर गस्ती गर्न थालेका छन् । चोरहरुले दिनभर मानिसहरुको अवस्था हेर्ने र राती कोही नभएको मौका पारेर चोरी गर्ने श्रङ्खला बढाएका छन् ।
यसैक्रममा सोमबार राती गजेहडाकी नेत्रकुमारी खत्री ‘चुजा’को घरमा चोरी भएको छ । अज्ञात चोरहरुले खत्रीको घरमा रातभर छापा मारेर महत्वपूर्ण सामानहरु चोरेर भागेका छन् । चोरीको प्रकृती हेर्दा ‘निडर’ भएर रातभर घरको छापा मारेको देखिन्छ । यतिसम्मकी सामानका काटुन देखि दराज, बक्स पलङ, डस्टविनमा जम्मा भएका फोहर पनि उनीहरुले ‘खदुले’का छन् । खत्रीका परिवार सोमबार राती काम विशेषले बाहिर रहेको र मंगलबार विहान घर आउँदा चोरहरुले चोरी गरेको थाहा भएको हो ।
त्यसपछि प्रहरी र स्थानीयबासीलाई खबर गरेपछि घरको निरिक्षण भएको छ । निरिक्षणका क्रममा प्रहरीले दिएको जानकारी अनुसार महंगा गरगहना र नगद पैसा चोरी नभएपनि सामान्य बस्तुहरु चोरी भएका छन् । परिवारका अनुसार चोरले दुई थान मोबाइल, दुई चार्जर, एक टर्च लाइट, दुई टिभीका रिमोट चोरेका छन् ।
खत्रीका अनुसार आफु सोमबार एक विहेमा सहभागी भएको हुँदा गरगहना साथमा रहेको र एक रुपैयाँ पनि नगद पैसा घरमा नभएकोले ठूलो चोरीबाट बचेको बताउनुभयो । मायादेवी अनलाइनसंग कुरा गर्दै उहाँले यो सामान्यस्तरको चोरी नभएको बताउनुभयो । उहाँका अनुसार चोरी गर्ने गिरोह वाणगंगा क्षेत्रकै रहेको आशंका छ । आफु राती घरमा नभएको थाहा भएपछि नै पछाडिको च्यानल गेटको ताला फोडेर चोर पसेको उहाँको भनाई छ ।
घरका सम्पूर्ण कोठामा चोरको खानतलासीको प्रकृती हेर्दा त्रास पनि पैदा गरेको छ । हरेक सामान ‘खदुलेर’ चोरले महत्वपूर्ण सामान खोजेको घटनाको प्रकृतीले देखाएको छ । यदी घरमा मान्छे भएको भए पनि ज्यानकै खतरा हुने स्थानीय बताउँछन् । शिलशिलेबारमा चोरी हुन थालेपछि सर्वसाधारण त्रासमा पर्न थालेका छन् ।

चोरले खदुलेको सामानाहरु ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६ मंगलबार ००:००  १० : ३२ बजे