९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बाँकेमा मानसरोवरको प्रतिकात्मक स्थल बन्ने



बाँके ।
बाँकेमा मानसरोवरको प्रतिकात्मक स्थल बन्ने भएको छ । हिन्दु र बुद्ध धर्मको धार्मिक स्थलका रुपमा परिचित मानसरोवर तिब्बतमा पर्दछ । यसैको प्रतिकात्मक स्थल बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरस्थित न्यु हरियाली सामुदायिक वन उपभोक्ता समुहको जङ्गल हाताभित्र निर्माण गरीने भएको छ । जसको आज प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले शिलान्यास गर्नुभएको छ । उहाँले मानसरोवरको प्रतीकात्मक स्थल सहितको बोटानिकल गार्डेन (वनस्पति उद्यान) को शिलान्यास गर्नुभएको छ ।

शिलान्यास कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पर्यटकीय क्षेत्रमा यसले महत्व राख्ने बताउनुभयो । साथै यसको संरक्षण स्थानीय सरकारले गर्नुपर्ने उहाँको भनाई थियो। स्थानीयहरूको प्रत्येक्ष सहभागिता भएमात्र बोटानिकल गार्डेनको योजनाले पूर्णता पाउँछ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, बोटविरूवाले मात्र पर्यटक आकर्षण गर्न सक्दैन, त्यसकालागि भौतिक संरचनाका साथै आतिथ्य संस्कारमा समेत विशेष ध्यान दिनुहोस ।’

वर्षेनी नेपालगन्ज हुँदै भारतीय पर्यटकहरु मनसरोवर जाने गर्दछन् । ती पर्यटकहरुई एक दिन बाँकेमा रोक्न सके जिल्लाको पर्यटन विकासमा टेवा पुग्ने बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचालले बताउनुभयो । मनसरोवर पुग्न मौसम सफा हुनु पर्छ । मौसम सफा नभए पर्यटकहरु नेपालगन्जबाट त्यसै फर्किनु पर्ने बाध्यता छ । मनसरोवर पुग्न नसकेका पर्यटकलाई प्रतिकात्मक स्थलसम्म पुर्याउने उद्देश्य भएको अध्यक्ष रुचाल बताउनुहुन्छ ।

उहाँले योजनाको लागि आवश्यक परे आर्थिक देखि सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले आफ्नो ठाउँलाई बोटानिकल पार्क बनाउनका लागि छनौट गरेकोले आफू प्रदेश सरकारप्रति कृतज्ञ भएको बताउनुभयो । १ करोड ६ लाख ८ हजार २ सय ९१ रुपैयाँमा प्रदेश सरकारले निर्माण गर्न लागेको यो प्रतिकात्मक सरोवरलाई २०७७ असार २५ गते निर्माण सम्पन्न गर्नु पर्ने लक्ष्य लिइएकोे छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ४७ बजे