९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक पारौंः नगर प्रमुख थारु



थानेश्वर अधिकारी, चानरम्बर ।
बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले एक कार्यक्रमका बीच सीप नभएको मान्छे र दीप नभएको घरको अर्थ नहुने बताउनु भएको छ । सोमबार जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, कपिलवस्तुको सहयोग तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा बाणगंगा नगरपालिका वडा नं ८ मा उद्यमशिलता विकास तालिम समापन कार्यक्रममा सो धारणा व्यक्त गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख थारुले सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक पार्न सबै जना उद्यमी बनी नमुना गाउँ बनाउनुपर्ने कुरामा जोड दिनु भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका बिशिष्ट अतिथि तथा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले महिलाहरुमा आत्मवल र कार्यक्रम प्रतिको लगाव भएका उनीहरु सफल उद्यमी बन्ने कुरा बताउनु भएको छ ।
साथै परिवारका एक जना सदस्यमा मात्र निर्भर हुँदा कुनै कारणबशः उ असक्त र असहाय भएमा परिवारमा बिचल्ली आउने हुँदा परिवारका सबै सदस्य उत्पादनमा जोडिनु पर्ने बताउनु भएको छ । मन्तव्यकै क्रममा बाणगंगा नगरपालिकाका सामाजिक विकास संयोजक तथा वडा नं ५ का वडाध्यक्ष भिष्मराज भुसालले महिला तथा गृहिणीहरुले घर व्यवहार चलाउँदा वा कुनै काम गर्दा घरबाट माग्न नपर्ने अवस्थाको सृजना गरी उनीहरु व्यवसायका माध्यमबाट आत्मनिर्भर हुनु पर्ने कुरामा जोड दिनु भएको छ ।
कार्यक्रममा नगरस्तरीय लघु उद्यम विकास समितिका अध्यक्ष तथा बाणगंगा नगरपालिका वार्ड नं ८ का वडाध्यक्ष गुणनिधि भुसालले गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम संचालन गर्न बाणगंगा नगरपालिकाले वडा नं ८ छनौट गरेकोमा धन्यवाद दिदै तालिम उपलब्धीमुलक र सार्थक भएको बताउनु भएको छ ।
यो नगरपालिकाकै लक्ष्य अनुसारको कार्यक्रम रहेको हुनाले अव छनौट भई तालिम लिएका सहभागीहरुलाई सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने बताउनु भएको छ । कार्यक्रममा तालिममा सहभागी शान्ता न्यौपानेले तालिम अत्यन्त उपयोगी रहेको यसबाट व्यवसाय कसरी छनौट गर्ने तरिका, बजार सम्भाव्यता, स्थानीय श्रोत साधन पहिचान गर्ने तरिकाका बारेमा जानकारी पाइएको बताउनु भएको छ ।
छनौट भएका सहभागीहरुलाई मागमा आधारित सीपमुलक तालिम प्रदान गरी उनीहरुलाई छोटो, मध्यम र लामो अवधीको तालिम प्रदान गरिनेछ । तालिमका सहभागीहरुले ढाकाको झोला बुनाई, सिलाइकटाई, बाख्रापालन, व्युटिपार्लर, डल कुशन तालिम माग गरेका छन् । ८ दिन सम्म संचालन भएको सो तालिमको सहजीकरण सिद्धार्थ सामाजिक विकास केन्द्रका उद्यम विकास सहजकर्ता यज्ञ बहादुर चन्द्र र डिल्ली हमालले गर्नुभएको थियो ।
कार्यक्रम नगर स्तरी लघु उद्यम विकास समितिका अध्यक्ष गुणनिधि भुसालको अध्यक्ष, बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आथित्यता, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीको बिशिष्ट आथित्यता र सामाजिक विकास समिति संयोजक भिष्मराज भुसालको आथित्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक थानेश्वर अधिकारीले गर्नु भएको सो कार्यक्रमका ४० जना सम्भावित उद्यमीहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ७ : ४१ बजे