९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

लोकप्रिय वडाध्यक्ष गिरीका ७ उत्कृष्ट कामः सुत्केरीलाई ‘लोकल भाले’देखि ९ मिटर सडक चौडासम्म



मायादेवी अनलाइन, चारनम्बर ।
राम्रो कामको कारण लोकप्रियता हासिल गर्ने जनप्रतिनिधि देशमै नगन्य छन् । चुनाव जित्नैका लागि जनताबीच विभिन्न आश्वासन बाँडिएपनि अधिकांश जनप्रतिनिधिलाई चुनाव जितिसके पछि ती बाचा भुलेको आरोप लाग्ने गर्छ । कतिपयले काम कसरी गर्ने हो ‘मेसो’ सम्म पाउन सकेका छैनन् । कतिपयले विकासको ‘मेसो’ त पाएका छन्, तर नेपालमा विकास भनेको ‘यस्तै त हो नि ब्रो’ भन्दै जनभावना विपरित हिडेका भेटिन्छन् ।
तर, कपिलवस्तुमा एउटा यस्तो वडा कार्यालय छ, जसले अरुले भन्दा राम्रो, अरुले भन्दा फरक जनप्रिय काम गरेर लोकप्रिय बनिरहेको छ । त्यो वडा हो वाणगंगा नगरपालिका वडा नं. ७ । लामो समय शिक्षण पेशाबाट वडा अध्यक्ष बन्नुभएका विष्णु गिरी वडामा रचनात्मक काम गरेर वडाबासीको मात्र लोकप्रिय बन्नुभएको छैन्, देशमै राम्रो कामको उदाहरण प्रस्तुत गरिरहनुभएको छ ।
वडा कार्यालयले देख्दा सामान्य तर भौतिकसंगै सामाजिक, आर्थिक विकासमा फरक काम गरेर उदाहरणीय प्रस्तुत गरेको हो । वडाभित्रका मूल बाटा ९ मिटरका कायम गर्नु, सरसरफाईको व्यवस्थित योजना बनाउनु, कागतीमा आत्मनिर्भर बनाउने अभियान ल्याउनु, सामुदायिक विद्यालय प्रतिको आकर्षण बढाउनु, सुत्केरी महिला लक्षित विशेष कार्यक्रम सञ्चालन गर्नुु, दलित समुदायको कला, संस्कृती संरक्षणमा विशेष योजना बनाउनु, गृहणी हाजिरी जवाफ राखेर शिक्षाको चेतना जगाउनु, निशुल्क विद्युत मिटर जडान गरिदिनु जस्ता वडाले गरेका नमुना काम हुन् ।

नमुना कामः नं. १
चुनाव जितेर आइसके पछिको पहिलो नमुनायोग्य काम हो वडाभित्रका मूल बाटा ९ मिटर चौडा पार्ने । सरकारी नियममा ६ मिटर बाटो चौडा पार्नुपर्ने हुन्छ । त्यही पनि यो नियम नयाँ बाटोमा मात्र लागु हुन्छ । नगरपालिका गठन पूर्व बनेका बाटा चार मिटरका हुनुपथ्र्यो । तर, वडा कार्यालयले पुराना कायम रहेका बाटालाई नै ९ मिटर फराकिलो बनायो । जुन काम साह्रै चुनौतीपूर्ण थियो । स्वार्थ हेरेको भए यसो गर्दा मत बढ्ने भन्दा घट्ने हुन्थ्यो । यद्यपि, विकास तत्कालका लागि देखिने विषय होइन्, दीर्घकालिन फाइदा पुग्नुपर्छ । पक्कै यही ठानेर होला वडाध्यक्ष गिरीले जोखिम मोलेको । उहाँले भकाभक सडक फराकिलो पार्न थाल्नुभयो । व्यक्तिका घरका ‘पक्की वाल गए’, ‘जग्गा बाटामा मासिए’, ‘घर–गोठ भत्किए’ । साथ–साथमा मन पनि भत्किए ।
‘नौ मिटर सडक चौडा पार्दा कम्ता गाली खाएन त्यो दिन सम्झदै वडाध्यक्ष भन्नुहुन्छ, “धेरैले धार्ने हात लगाएर ‘मोरी हालेस’ भन्दै सरापे ! कतिले मुद्धासमेत हाले ।” आफुलाई नै भोट दिएर जिताएका जनताबीच यसो गर्नु पक्कै राम्रो त थिएन, तर नगरी पनि हुन्थेन् । विकास दीर्घकालिन हुनुपर्छ भन्नेमा म प्रष्ट थिए, त्यही भएर चुनौती मोलेको हुँ ।”
तराईमा बसाईसराईको दर दिनानुदिन बढिरहेको छ । हिजोविहानका गाउँघर, शहर बजारमा रुपान्तरण हुँदैछन् । साघुँरा सडक पक्की बनाउँदा कति बर्ष टिक्ला ? एक न एक दिन त पक्कै भत्काउनु पर्छ ? अहिले देखि नै यो सोच बनाएर काम गर्न सके भने विकास दिगो हुन्छ भनेर यो निर्णयमा पुगेको हुँ उहाँले भन्नुभयो ।”
मोतीपुर थारु गाउँ हुँदै फूलबारी जाने बाटो निमार्ण गर्दा यो समस्या भोगेको उहाँले बताउनुभयो ।
सुरुताका वडाध्यक्ष गिरीले गाली पाएपनि अहिले भने त्यहीका जनता खुसीले हौसिन थालेका छन् । अहिले घर अगाडी फराकिला सडक देख्दा साँच्चिकै वडाध्यक्षले त्यति बेला हाम्रै लागि काम गर्नुभएको रै छ भन्ने ‘भान’ पर्न थालेको उहाँ सुनाउनुहुन्छ । “पहिला जो–जो मसंग असन्तृष्ट हुनुहुन्थ्यो अहिले उहाँनै बढी खुसी देखिनुभएको छ । फराकिलो सडकमा लगानी गर्न प्रदेश र केन्द्र सरकार तयार हुन्छ उहाँले भन्नुभयो, “साँघुरो सडकमा कल्ले लगानी गर्ने ? अहिले त बजेट ल्याउन समस्या छैन् । सडक पक्की बन्दा अहिले स्थानीयबासी हौसिनुभएको छ ।” अहिले वडाका मुख्य सडक ९ मिटर गर्ने अभियान जारी छ ।

नमुना कामः नं. २
जब वडाध्यक्ष गिरी सुत्केरी महिना खोज्दै घर–घर पुग्नुभयो सबैले अच्चम मान्न थाले । कतिपय अचम्म मात्र परेनन्, ‘खिसीटियुरी’ गर्न भ्याए । कतिले त वडाध्यक्षलाई यो काम गर्न सुहाएर समेत भने । लोकप्रिय बन्ने सस्तो प्रचारको रुपमा कतिले अथ्र्याए ।
एक हातमा लोकल कुखुराको भाले, झोलामा एक किलो घिउँ, एक किलो मह बोकेर सुत्केरीको घरमा वडाध्यक्ष पुग्दा अच्चममा पर्ने कुरै थियो । नौलौ कामको सुरुवात गर्दा अचम्म लाग्नु स्वभाविक पनि हो !
महिलाको सुत्केरी अवस्था चरम पीडाको समय हो । यस बेला पोषिला पोषिला खानेकुरा प्रयाप्त खुवाउनु पर्छ । तर, गरिबीका कारण अधिकांश महिलाले पीडा भोग्दै आएका छन् । वडाभित्र सुकुम्बासीहरुको बस्ती बाक्लो छ । त्यही बस्तिमा कुनै कामले वडाध्यक्ष गिरी पुग्नुभएको थियो । त्यही बेला सुत्केरी महिलाको नाजुक अवस्था देखेपछि वडा कार्यालयले पोषिलो खानेकुरा स्वरुप लोकल कुखुराको भालो, एक किलो घिउँ र एक किलो मह दिने निर्णय गरेको हो । गत आवबाट सुरु भएको यो कार्यक्रम अहिले पनि जारी छ ।
वडाले यो वितरणमा नियम बनाएको छ । नियमित हेल्थ पोस्ट् जाने, नियमित तौल लिने, नियमित आइरन चक्की खाएको र सरकारी स्वास्थ्य संस्थामा गएर सुत्केरी गराएकाले मात्र वडाको यो सुविधा पाउने वडाध्यक्षले सुनाउनुभयो । “वडाले दिने यो सुविधामा दुई कुराले विशेष अर्थ राख्छ, वडाध्यक्ष गिरीले भन्नुभयो, एउटा गरिबीको चपेटामा परेकाका लागि महत्वपूर्ण सहयोग पुग्यो । अर्को स्वास्थ्य संवदेनशिलता अपनाउनेलाई प्रोत्साहन स्वरुप उपचार दिन पाइयो । जुनसुकै अवस्थाका सुत्केरी महिलाले यो सुविधा पाउँछन्, तर नियम पूरा गर्नु पर्छ ।”
वडाले थालेको यो कार्यको चौतर्फि प्रशंसा मिलेको छ । वडाको सिको अहिले अरु वडाले पनि गर्न थालेका छन् । अधिकांश सुत्केरी महिलाले लोकल कुखुरा भन्दा अण्डा दिन आग्रह गरेपछि आजभोलि अण्डा वितरण गर्न थालेको उहाँले बताउनुभयो ।

नमुना कामः नं. ३
गत आवमा वडा कार्यालयले सेवाग्राहीका लागि ११ बुँदे प्रतिवद्धता पत्र बनायो । यो पत्रले वडाको विकासमा ठूलै महत्व राख्थ्यो । समाजमा देखिने गरेको विकास निर्माणप्रतिको मनोभाव सामु भने, यो पत्र कार्यान्वयनको अवस्था निकै चुनौतीपूर्ण थियो ।
गर्न नसकिने योजना ल्याएर पनि यसको अर्थ हुन्थेन । जसो सोचेपनि यो काम चुनौतीपूर्ण थियो । तर, तीव्र र व्यवस्थित विकास गर्नका लागि यो योजना नल्याई पनि हुन्थेन । चुनौती मोल्दै वडाध्यक्ष गिरीले ११ बुँदे प्रतिवद्धता पत्र ल्याउनुभएको हो । भनिन्छ, चुनौती विनाका उद्धेश्य अपूरा हुन्छन् । ‘जहाँ इच्चा, त्यहाँ उपाए’ ।
यी ११ बुँदामा समावेश विषयले समुन्नत समाज निर्माणमा निकै महत्व राख्थ्यो । वडा कार्यालयमा सेवा प्रवाहका लागि आउने जो कसैले यी ११ बुँदा पुरा गरेर आउनु पथ्र्यो । जसले पूरा गर्न मान्दैनथ्यो, उसले सेवा पाउँदैनथ्यो ।
यी थिए घरमा फूल रोपेको छ कि छैन्, मौसम अनुसारको तरकारी लगाएको छ कि छैन्, घर आँगन सरसफाई छ कि छैन्, घर अगाडि बाटोमा गोवर वा फोहर छ कि छैन्, बाटोमा अनाश्वयक निर्माण सामग्री राखेको छ कि छैन्, शौचालयको प्रयोग छ कि छैन्, बाटोमा बस्तुभाउ बाँध्ने गरेको छ कि छैन्, विकास निर्माणमा सहभागी हुने गरेको छ कि छैन्, घरेलु हिंसा छ कि छैन्, बालबालिका विद्यालय पठाएको छ कि छैन्, बालबालिकालाई पूर्ण खोप लगाएको छ कि छैन् ?
यी बुँदा कार्यान्वयन गर्नेले मात्र वडाबाट सिफारिस पाउँथ्यो । फेरी फारममा लेखिएका विषयमा सेवाग्राहीले ‘छ’ भन्दै भरेर दिन पनि त सक्थे ? तर, त्यति सजिलो थिएन ।
वडाले यसको सोही कार्यान्वयनका लागि कडा निगरानी गर्न टोल विकास समितिलाई सक्रिय बनाएको छ । सिफारिसका लागि आउने सेवाग्राहीले सम्बन्धित टोलविकास समितिसंग सम्पर्क राख्नुपर्ने नियम छ । यी ११ बुँदे सुचक कार्यान्वयनको अवस्था हेरेर मात्र समितिले वडामा सिफारिस पठाउँने गरेको छ । यो काम सबै सामु लोकप्रिय भएको छ । वडाध्यक्ष भन्नुहुन्छ–“वडालाई सुन्दर, रमणीय र विकसित बनाउने हाम्रो अभियान, ७ नं. वडा नगरकै सान” भन्ने नारा तय गरी यो पत्र बनाइएको हो । सस्तो लोकप्रियताका लागि यति साह्रो कठिन काम गर्नु पर्थेन, मलाई सस्तो लोकप्रियता कमाउनु छैन्, वडा बनाउँनु छ ।”

नमुना कामः नं. ४
जब वडा कार्यालयले वडाभित्र अध्ययनरत सरकारी विद्यालयका बालबालिकालाई न्यानो स्विटर वितरण गर्ने योजना बनायो कतिपयको निन्द्रा हराम भयो । बालबालिकाका लागि भनेर लक्षित बर्गमा छुट्टाउने बजेट तालिम र भत्तामा सकाउने, उपलब्धी शून्य हुने गरेको आरोप लागिरहेका बेला वडाले न्यानो स्विटर बाँड्ने लोकप्रिय काम गर्न आटेको थियो । यो काम अरुलाई पचेन । विरोध भयो । यो कार्यक्रम वडाबाटै हटाउन दबाब आयो । कारण थियो वडा नं.७ ले यो गर्दा अरु सामु दबाब पुग्छ भन्ने । ७ नं. वडाले स्विटर बाँड्दा अरुमा दबाब आउथ्यो । सातो खानु पथ्र्यो ।
दबाबका बीच वडा नं. ७ ले कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्राय समाजका तल्लो बर्गका छोराछोरी हुन्छन् । दिनरात छाक टार्न गाह्रो हुनेका छोराछोरीलाई जाडोमा न्यानो स्विटर बाड्दा कम्ता खुसी देखिन्थ्यो । यसले जाडोमा विद्यालय छाड्ने क्रममलाई हटायो भने विद्यालयप्रतिको आकर्षण बढाएको छ । वडाले यो शानदार कार्यक्रम गर्न सफल भएको छ । गत आव र चालु आ.व. गरी ९ सय ७५ विद्यार्थीले स्विटर पाएका छन् । अहिले अरुले पनि यसको सिको गर्न थालेका छन् ।

नमुना कामः नं. ५
बजारमा भारतीय कागतीको वर्चश्व छ । नेपालमा उत्पादन गर्ने परिपाटी नहुँदा भारतीय कागतीको एकछत्र जस्तै राज छ । तर, वडा कार्यालयले कागतीमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ । सोही अभियान अन्तर्रगत चालु आवमा १८ सय कागतीका विरुवा वितरण गरिएको छ । वडाबासीलाई वडाले निशुल्क कागतीको विरुवा दिएको हो । घरमै कागती लगाएर आत्मनिर्भरताका लागि यो अभियानको सुरुवात गरिएको वडाध्यक्ष गिरी बताउँनुहुन्छ । वडाले दिएको कागती सबैको घरघरमा हुँर्कदो छ । वडाले दिएको कागतीको विरुवामा अधिकांशले थपेर कागती रोपेका छन् ।

नमुना कामः नं. ६
वडा कार्यालयले शिक्षाको जागरण स्वरुप गत आवमा गृहणीस्तरमा हाजिरीजवाफ प्रतियोगीता आयोजना गर्यो । वडा भित्रका विकास निर्माण, महिला हक अधिकार, महिला हिंसा न्यूनिकरणका उपाय लगायतका विषयवस्तु समेटेर वडाले हाजिरीजवाफ प्रतियोगीता सञ्चालन गरेको हो । यसले समग्र महिलामा चेतनाको बृद्धि गरेको छ भने अध्ययनप्रतिको रुचि बढाएको छ ।

नमुना कामः नं. ७
वडाले सुकुम्बासीबस्तीमा निशुल्क विद्युत मिटर वितरण गरेको अर्को नुमना काम गरेको छ । विद्युत मिटर राख्न नसक्दा यसको चुवाहट बढेपछि यसको नियन्त्रणका लागि वडाले निशुल्क विद्युत मिटर बाँडेको हो । वडाका २ सय ५० जनाले निशुल्क रुपमा विद्युत मिटर पाएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ७ : १५ बजे