९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

अब शहर कुरुप हुँदैनः प्रधानमन्त्री ओली



काठमाडौं ।

काठमाडौं उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट सो परियोजनाको कार्य आरम्भ गरे ।
पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताए ।
उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आमजनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख सहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए । प्रधानमन्त्रीले आगामी २ वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पुर्‍याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यातसमेत गर्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले विगतमा नेपालबाट बौद्धिक पलायन (ब्रेन ड्रेन) हुने गरेकामा त्यसलाई रोकेर विदेशमा काम गरिरहेकालाई स्वदेश फर्काउने (ब्रेन ड्रेन) अभियान सुरु भएको बताए । रासस

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ४४ बजे