९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

परराष्ट्रमन्त्री ज्ञवाली बङ्गलादेश प्रस्थान



काठमाडौं ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बङ्गलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनको निमन्त्रणमा उक्त देशको तीनदिने औपचारिक भ्रमणमा सोमबार बिहान ढाकातर्फ प्रस्थान गरेका छन्। मन्त्री ज्ञवालीका साथ परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी र उक्त मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव प्रवीण अर्याल छन्। मन्त्री ज्ञवाली नेतृत्वमा ढाकामा दुई देशबीच मङ्गलबार प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। दुवै देशका परराष्ट्रमन्त्रीले आपसी सम्बन्धका साथै साझा चासोका ऊर्जा, व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पर्यटन, क्षेत्रीय तथा बहुपक्षीय सहयोग प्रवद्र्धनमा केन्द्रित रहेर विचार आदानप्रदान गर्नुहुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले बताए।
मन्त्री ज्ञवाली नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्कनेछ। त्रिभुवन विमानस्थलमा मन्त्री ज्ञवालीलाई परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्याल, शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारी र यहाँस्थित बङ्गलादेशी राजदूतावासका वरिष्ठ अधिकारीले बिदाइ गरेका थिए।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  १२ : ३४ बजे