९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

कोरोना उद्गमस्थल हुवेइबाट फर्किनेमा कपिलवस्तुका खनाल पनि, भन्नुहुन्छ ‘हामी नजरबन्दमा थियौँ, त्यहाँ विजोग छ ’



चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कोरोना भाइरसको उद्गम स्थल चीनको हुवेइबाट नेपाल फर्कनेमा कपिलवस्तुका एक जना विद्यार्थी पनि रहेका छन् । सरकारले १ सय ७५ जना नेपालीलाई चीनबाट उ्द्धार गरी भक्तपुरको खरिपाटीको क्वारेनटाइनमा ल्याएपछि कपिलवस्तुका सरोज खनाल रहेको पाइएको हो । अर्घाखाँचीको ढाकावाङबाट कपिलवस्तुको वाणगंगा–८, चप्परगाउँमा बस्दै आएका सरोज खनाल वायोक्यामेष्ट्री विषयमा विद्यावारिधीका लागि त्यहाँ जानुभएको थियो । अब विश्व स्वास्थ्य संगठनको नियम अनुसार १४ दिन भक्तपुर खरिपाटीको क्वारेन्टाइनमा परीक्षणका लागि बस्नु हुने छ । नेपाल फर्किए लगत्तै खनालले सामाजिक संजालमा स्टाटस लेखेर नेपालको म्यानेजमेन्ट, चीनको वास्तविक अवस्थाबारे हुबहु बताउनु भएको छ । खनालले फेसबुकमा लेख्नुभएको छ कि,“त्यहाँ (चीनमा) रहँदाको मानसिक पीडा र तनाव यहाँ आएपछि समाधान भएको छ।” आफूहरु नेपालको ब्यवस्थापन देखेर धेरै खुसी भएको भन्दै उहाँले भन्नुभयो “अहिले आमाबुबासंग कुराकानी गर्न पाएका छौँ । चीनमा रहँदा सोचेका थियौँ कि अब बाँचिन्छ, बाँचिन्न । कतै कोरोनाले हामीलाई पनि संक्रमित बनाउने त होइन ? सारै चिन्ता थपिएको थियो । हामीले कहिले सरकार आएर लैजान्छ भनेर कुरेर बसेका थियौँ । सरकार आयो । आमी पनि आउन पायौँ । धन्यबाद मेरो नेपाल सरकारलाई ।”
बुहानमा २३ जनबरीबाट बजार बन्द भएर ‘पब्लिक सर्भिस’ मा ‘ब्लक’ गरेसँगै आवश्यक सामाग्रीको अभाव सृजना भएको र मानसिक तनाव झन भोग्नुपरेको खनालको गुनासो छ। ‘ढिलै भएपनि नेपाल सरकारले राम्रो व्यवस्था गरेको देख्दा भावविह्वल भएको छु। साथीहरूसँग बुझ्दा साउथ एसियामा भारत, पाकिस्तान, बंगलादेशका साथीहरूले भनेको भन्दा हाम्रो धेरै राम्रो लाग्यो,’ खनालले भन्नुभयो ।’ खरिपाटीमा नेपाली सेना, नेपाल प्रहरी, तालिमप्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र एम्बुलेन्सहरू राखिएको छ। भित्र बस्नका लागि गरिएको व्यवस्था अत्यन्तै राम्रो रहेछ। हामीहरु खुशीले गद्गद् छौं।’खनालको प्रतिक्रिया छ।
खनालले आफूहरुको चीनको अवस्थाबारे पनि बताउनु भएको छ । खुसीको आँसु झार्दै उहाँले भन्नुभयो,‘चीनमा तीन सातादेखि बजार ठप्प थियो, एक छाक खाएर बसेका थियौं, पानी पनि अभाव भएको थियो, कहीँ कतै सम्पर्क खर्ग पाइएको थिएन, यता घरपरिवारले सोधिरहन्थे पीडा लुकाएर ठिकै छ भन्थ्यौं । यहाँ आएपछि त वाव हाम्रो देश भन्ने भएको छ । खनालले चीनमा विश्वका अन्य विद्यार्थीहरु पनि अत्तालिएर बसेको बताउनु भएको छ । त्यहाँ भएका सबैलाई बस्न पनि सकस छ । चीनकै अन्य शहरबाट त्यहाँ जान र त्यहाँका नागरिकलाई अन्यत्र जान समेत प्रतिबन्ध लगाइएको छ । सहर बन्द गरिएको छ । खानेकुराको अभाव छ । कसैसंग भेटघाट गर्न पनि दिइदैन । एकखालको नजरबन्दमा नै बसिरहेका छन् मानिसहरु । मलाई पनि नजरबन्दमा बसेको जस्तो भयो । खनालले भन्नुभएको छ । नेपालको खरिपाटीमा आएपछि यहाँको ब्यवस्थापन देखेर गजबको अनुभूति भइरहेको पनि खनालले बताउनु भयो । उहाँले आफूहरुप्रति गरिएको व्यवहार वास्तवमै उदाहरणीय रहेको प्रतिक्रिया दिनुभयो ।
कपिलवस्तुका खनालसंगै फर्किनु भएका रुपन्देही सैनमैनाका अर्थोपेडिक सर्जन डाक्टर विकास न्यौपानेले पनि खुसी ब्यक्त गर्नुभएको छ । उहाँले सामाजिक संजालमा लेख्नु भएको , ‘वाव, नेपाल सरकार, वाव म्यानेजमेन्ट वेल डन । प्राउड अफ नेपाल । ’ न्यौपानले अब देशमै बसेर केही गर्न बताउनु भएको छ । बल्लतल्ल नेपाल आउन पाइयो । बाँच्न पाइएको छ । अब क्वारेनटाइनको बसाइपछि परिवारसंग भेटेर यसबारे थप कुरा बताउने उहाँले बताउनु भयो । खरिपाटीमा आएपछि आफूहरुले ठूलो मानसिक तनावबाट मुक्ति पाएको र परिवारसंग टेलिफोनमा कुरा भइरहेको उनीहरुको भनाइ छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै बसोबासको व्यवस्था गरिएको र सरकारको प्रभावकारी व्यवस्थापन देखेर आफुहरु खुशी भएको उनीहरुको भनाइ छ। खनाल, न्यौपाने लगायतका विद्यार्थी जहाँबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो त्यहीँ सहरमा थिए। चिकित्सा क्षेत्रमा विभिन्न विधामा अध्यय्नका लागि उनीहरु त्यहाँ गएका थिए। फर्कने एक सय ७० जना विद्यार्थीसहित दुई बालबालिका, दुई पर्यटक र एक जना कामदार रहेका छन् । २४ घन्टा भित्र परीक्षण गर्नुपर्ने रगत तथा ¥यालको परीक्षणमा उनीहरु कसैलाई पनि कोरोनाको संक्रमण नदेखिएको परीक्षणमा संलग्न चिकित्सकहरुले बताएका छन्। पहिलो परीक्षणमा उनीहरुलाई कुनै संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ। योसँगै हरेक दिन विद्यार्थीहरुको दुई पटक ज्वरो परीक्षण गरिने छ। १४ दिनसम्म क्वारेन्टाइनमा बस्दा ज्वरो देखिए सीधै आइसोलेसन वार्डमा राख्नेगरी वेड र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ ।
यसै सन्दर्भमा नेपाल फर्किएका विद्यार्थीका अभिभावकले कार्यक्रम गरेर खुसी साटासाट गर्ने योजना बनाएका छन्। विद्यार्थीहरू क्वारेन्टाइन सकिएर घर आएपछि सकेसम्म सबैजना जम्मा हुने र अनुभव साट्ने उनीहरूको योजना छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६ सोमबार ००:००  ६ : ५५ बजे