९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

महरामाथिको बहस सकियो, तर फैसला आएन



काठमाडौँ ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दर्ता भएको जबरजस्ती करणी उद्योग मुद्दाको बहस सकिए पनि आज फैसला नआउने भएको छ ।

बहस सकिएर आजै फैसला सुनाउने अन्तिम तयारी भनिएपछि जिल्ला न्यायाधिश अम्बरराज पौडेलले फैसला लेख्न नभ्याएको हुँदा अर्को दिन फैसला सुनाउने जानकारी दिएका हुन् ।

आइतबार काठमाडौँ जिल्ला अदालतमा महराको तर्फबाट आठ जना वकिलले बहस गरेका थिए । अभिवक्ताहरु भिमार्जुन आचार्य, शेरबहादुर केसी, रमन श्रेष्ठ, लव मैनाली, मुरारी सापकोटा लगायतले महराको तर्फबाट बहस गरेका थिए ।

महरा आइतबार आफै अदालतमा उपस्थित भएका थिए। उनी अघिपछिको भन्दा प्रफुल्लित मुद्रामा देखिन्थे ।

माघ २६ गते अन्तिम सुनुवाई भएको मुद्दा ‘हेर्दा हेर्दैमा’ राखेर आइतबार फेरि सुनुवाइ सुरु भएको हो । यसअघि सरकारी वकिलका तर्फबाट बहस सकिएको थियो ।

प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौँ जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। माघ २६ गते सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरेका थिए ।

उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको छ ।

तत्कालीन जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो । गएको असोज १२ गते संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीको तीनकुनेस्थित कोठामा पुगेर महराले जबरजस्ती करणी प्रयास गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए ।

उनी अहिले डिल्लीबजार कारागारमा थुनामा रहेका छन् ।

पीडित भनिएकी शाहीले बानेश्वरस्थित प्रहरी वृत्तमा जाहेरी दिएपछि उनलाई प्रहरीले असोज १९ गते सभामुख निवासबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो ।

जिल्ला अदालत समक्ष पीडितको हैसियतमा बकपत्र गर्ने क्रममा रोशनी शाहीले आफूविरुद्ध महराले जबरजस्ती करण प्रयास नगरेको दाबी गरेकी थिइन् ।

सुरुमा महानगरीय प्रहरी वृत्त कोटेश्वरमा महराले तीनकुनेस्थित आफ्नो कोठामै आएर जबरजस्ती करणी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोली फेर्दै आफूमाथि करणी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् ।

बकपत्रका क्रममा उनले आफूमाथि यौन हिंसा नभएको (होस्टाइल) बताएकी हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : २४ बजे