९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

चन्द्रौटामा एमसीसी विरुद्ध ९ दलको प्रर्दशन



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा शनिबार एमसीसी र सीमा अतिक्रमण विरुद्ध नेकपा (मसाल) सहित नौ राजनीतिक दलले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्यले अमेरिकी साम्राज्यबादले गर्न लागेको सहयोग सम्झौता तत्काल खारेज गर्नु पर्ने बताउनुभयो ।
यो अमेरिकी सैन्य रणनीति अन्तर्गत आएको हुँदा चीनलाई घेराबन्दी गर्न नेपालमा अमेरिकी सेनाको सैनिक क्याम राख्ने योजना अनुसार आएको र नेपालको कानुन भन्दा माथि रहने सर्त सहित आएको बताउनुभयो ।
उहाँले यो पास भए नेपाल युद्धको रणभूमिमा परिणत हुने भन्दै यसको विरोध गर्नुको विकल्प नरहेको बताउनु भयो । यस्तो राष्ट्रघाती सम्झौता आजसम्म ठुला दलले लुकाएर राखेको र संसदबाट पास गराउँदा मात्र नेपाली जनता लाई थाहा भएको बताउनु भयो ।
नेपालको भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकारले कुनै पहल नगरेको आरोप लगाउँदै अब यो मुद्दाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरेले जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का जिल्ला सचिव आकाश, देशभक्त जनतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष ज्ञानिराम पूरी, नेकपा (माले)का जिल्ला सदस्य रमेशकुमार श्रेष्ठ, राष्ट्रिय जागरण परिषद् नेपालका सदस्य पदम कार्कीले सम्भोधन गर्नु भएको थियो ।
कार्यक्रम राष्ट्रिय जनमोर्चा जिल्ला कोषाध्यक्ष चेत नारायण खनालको अध्यक्षता, अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदैको सञ्चालन र ओम नारायण चतुर्वेदीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा रक्तिम सांस्कृतिक अभियान कपिलवस्तुका कलाकारले राष्ट्रवादी गीत ‘झुक्दैन शिर हाम्रो साम्राज्यबाद सामुन्ने’ भन्ने गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : ०९ बजे