९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

आईपीएलको आगामी संस्करण मार्च २९ तारिखबाट, पहिलो खेल मुम्बई र चेन्नईबीच



काठमाडौं ।

इन्डियन प्रिमियर लिग (आईपीएल)को आगामी संस्करण मार्च २९ तारिखमा सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणका फाइनलिष्ट मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्।
यो खेल मुम्बईको घरेलु मैदान वाङ्खेडेमा हुने छ। भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेलेको ११ दिनमा आईपीएल सुरु हुने छ। गत संस्करणमा मुम्बईले चेन्नईलाई हराएर उपाधि जितेको थियो।

प्रतियोगिताको फाइनल मे २४ तारिखमा हुने छ। लिग चरणका खेलहरु मे १७ तारिखमा सकिने छन्। भारतीय क्रिकेट नियन्त्रण बोर्ड(बीसिसिआईले लिग चरणको खेल तालिका सार्वजनिक गरेपनि नकआउट चरणको भने गरेको छैन।

नेपालका सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले पहिलो खेल मार्च ३० तारिखमा घरेलु मैदानमा खेल्ने छ, किङ्स इलेभेन पन्जावविरुद्ध। दिल्लीले अप्रिल ३ तारिखमा कोलकाता नाइट राइडर्स, अप्रिल ५ तारिखमा राजस्थान रोयल्स, अप्रिल १० तारिखमा रोयल च्यालेन्जर्स बैंगलोर, अप्रिल १३ तारिखमा चेन्नई सुपर किङ्सविरुद्ध खेल्ने छ।

अप्रिल १९ तारिखमा कोलकातासँग, अप्रिल २२ तारिखमा बैंगलोरसँग, अप्रिल २६ तारिखमा सनराइजर्स हैदराबादसँग, मे १ तारिखमा मुम्बईसँग, मे ३ तारिखमा हैदराबादसँग, मे ६ तारिखमा मुम्बईसँग, मे १० तारिखमा चेन्नईसँग, मे १३ तारिखमा राजस्थानसँग र मे १६ तारिखमा पन्जाबसँग खेल्ने छ। सन्दीप लगातार तेस्रो सिजन आईपीएल खेल्न लागेका हुन्। दिल्लीले हालसम्म आईपीएलको उपाधि जित्न सकेको छैन।
चार पटक उपाधि जितेको मुम्बई प्रतियोगिताको सर्वाधिक सफल टोली हो। चेन्नईले पनि तीनपटक जितेको छ। सन् २००७ बाट सुरु भएको आईपीएल हालसम्म १२ संस्करण सम्पन्न भइसकेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  २ : २९ बजे