९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेकपाको विशेष अभियान्ः बाँकेबाट तयारी शुरु, प्रचण्डको सम्बोधन



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश विशेष अभियानको लागि तयारी शुरु गर्दैछ । आगामी चैत १ गतेदेखि सुरु हुने प्रदेशहरुको विशेष अभियानका लागि आज पाँच नम्बर प्रदेशबाट यसको थालनी गर्न लागको हो । दिउँसो १२ बजे बाँकेको कोहलपुरमा औपचारिक कार्यक्रम गरी अभियानका लागि तयारी शुरु गर्न लागेको प्रदेश पाँचकी अध्यक्ष ओनसरी घर्तीले जानकारी दिइन् ।

कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य रामबहादुर थापालगायत शीर्ष नेताहरु सहभागी हुने घर्तीले बताइन् । एकता सन्देश स्थानीय तहसम्म लैजाने उदेश्यले पार्टीले आगामी चैत १ गते देखि सुरु गर्न लागेको प्रदेश स्तरीय अभियानका लागि पाँच नम्बर प्रदेशले आजदेखि तयारी थाल्न लागेको नेकपा केन्द्रिय कार्यलयका सचिव इश्वरी रिजालले बताए । अन्य प्रदेशले पनि आफ्नो अनुकुलतामा अभियानको पुर्वतयारी थाल्ने रिजालको भनाइ छ । बिषेश अभियानको अवधिभर बैठक, प्रशिक्षण र सभा गर्ने नेकपाको तयारी छ ।

माघको १५ गतेदेखि १९ गतेसम्म चलेको नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष एवंम् प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट प्रचण्डले संयुक्तरुपमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव समावेश थियो । उक्त प्रतिवेदनका आधारमा नेकपाले अभियान संचालन गर्न लागेको हो । चैत र वैशाखमा केन्द्रीय संगठन विभागको योजना र निर्देशनअनुरूप संगठित सदस्यता नवीकरण गर्ने नेकपाले जनाएको छ ।

चैतको १ गतेदेखि जेठसम्म पार्टीको एकता सुदृढीकरण र जनसम्बन्ध विस्तारका लागि जिल्ला तहदेखि स्थानीय तहसम्म अभियान सञ्चालन हुने नेकपाले जनाएको छ। अभियानपछि आगामी वर्षको भदौदेखि मंसीरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गरी चैतमा पार्टीको महाधिवेशन गर्ने नेकपाले निर्णय गरेको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ८ : ०८ बजे