९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कोरोना उद्गमस्थल वुहानबाट उडेका १७५ नेपाली काठमाण्डौँमा अवतरण, अब कहाँ जालान् ?



काठमाडौं ।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा रहेका नेपालीहरूलाई उद्दार गरेर नेपाल ल्याइएको छ । उनीहरूलाई नेपाल एयरलाइन्सको चार्टर विमानमार्फत आइतबार विहान करिव ४ बजेतिर काठमाडौंमा ल्याइएको हो । वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली चीन गएको थियो । र, १७० विद्यार्थीसहित १७५ जनालाई बिहान ३स् ३८ बजे त्रिभुवन विमानस्थल ल्याइएको छ ।

१ सय ८५ जना नेपालीलाई ल्याउने तयारी गरिएपनि ६ जना ज्वरोका कारण उहान विमानस्थलमै रोकिएका छन् । ४ जना भने स्वइच्छाले नेपाल नआएको बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ । उनीहरूको त्रिभुवन विमानस्थलमा पुन स्वास्थ्य परीक्षण गरिनेछ र, ज्वरो नदेखिएकाहरूलाई पाँच बसमा राखेर र एम्बुलेन्ससँगै सुरक्षाका सम्पूर्ण माध्यम अपनाएर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिनेछ ।क्वारेन्टाइनमा भवन बाहेक सम्पूर्ण नयाँ संरचनाको व्यवस्था गरिएको छ । क्वारेन्टाइनमा जस्ताले वरिपरि बार लगाउनुका साथै प्राधिकरणको चारवटा भवन प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको छ । ठूला दुई भवनमा पुरुष, परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितको स्वास्थ्यकर्मी बस्नेगरी चारवटा भवनमा सबै संरचना जडान गरी व्यवस्थापन गरिएको छ ।

ब्लक ए मा ८६, ब्लक बि मा ८९ र ब्लक सि मा २५ जना क्षमता छ ।क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन । क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहानको नास्ता, ११स्०० बजे खाना, ३स्०० बजे खाजा र साँझ ७स्०० बजे खानाको व्यवस्था गरिएको छ । छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा उनीहरुले प्रयोग गर्ने शौचालयको सेफ्टी ट्याङ्कीदेखि बढी भएको खाना व्यवस्थापन गर्ने जमिनमुनि छुट्टै संरचना बनाइएको छ । चौविसै घण्टा संयुक्त सुरक्षा फौजले सुरक्षा प्रदान गर्नेछ । क्वारेन्टाइन बाहिर रहेको कन्ट्रोल रुमबाट २४ सै घण्टा अनुगमन गरिनेछ ।नेपालीलाई लिन वुहान गएका पाइलट, को-पाइलट, परिचारिका र सफाइ गर्ने स्वीपरलाई भने चाँगुनारायण नगरपालिका-६ नगरकोटस्थित खानेपानी तालिम केन्द्रको अर्को क्वारेन्टाइनमा राखिनेछ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६ आइतबार ००:००  ६ : २० बजे