९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

(नेकपा) निकट पत्रकारको एकता प्रक्रिया सकियो, पाण्डेलाई सिपि शर्मा पत्रकारिता पुरस्कार



दीपा महत, चारनम्बर ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कपिलवस्तु निकट पत्रकारहरुको एकता प्रक्रिया औपचारिक रुपमा टुंगिएको छ । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) बीच पार्टी एकता भएपछि पत्रकारका संगठनहरुको एकता प्रक्रिया टुंगिएको हो । (एमाले) निकटको प्रेस चौतारी नेपाल कपिलवस्तु र (माओबादी केन्द्र) निकटको प्रेस सेन्टर नेपाल कपिलवस्तुले एकता प्रक्रिया शनिबार औचापरिक रुपमा टुंगाएका हुन् ।


यसभन्दा पहिले नै दुई संगठन बीच भागवण्डाका आधारमा एकता टुंगाइए पनि नयाँ समितिको औपचारिक सपथ हुन पाएको थिएन । शनिबार एक कार्यक्रमको आयोजना गरी सपथ ग्रहण गराइएको छ । (नेकपा)का स्थायी समिति सदस्य तथा पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ले एकता पछि बनेको प्रेस संगठन नेपाल जिल्ला कार्यसमितिका सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।
संगठनको संयोजकमा डिलाराम भुसाल र सह–संयोजकमा हरि अधिकारी रहनुभएको छ । भुसाल पूर्व माओबादी केन्द्र निकटको प्रेस सेन्टर नेपाल कपिलवस्तुको अध्यक्ष हुनुहुन्थ्यो भने अधिकारी प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्ष रहनुभएको थियो । संगठनको केन्द्रिय निर्णय अनुसार भुसाल र अधिकारीलाई संयोजक र सह-संयोजकको जिम्मेवारी प्रदान गरिएको थियो ।


संगठन एकता प्रक्रियामा पूर्व चौतारीबाट १३ जना र प्रेस संगठनबाट ११ जना रहने सहमती थियो । सोही सहमतीका आधारमा आ–आफ्ना संगठनले विभिन्न पत्रकारलाई जिम्मेवारी दिएका थिए ।
एकतासंगै दुई संगठन एक भएर बनेको प्रेस संगठन नेपाल कपिलवस्तु जिल्लाकै शक्तिशाली संगठन बनेको छ । जिल्लाभित्र रहेर विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आवद्ध यो संगठन जिल्लाको सबैभन्दा ठूलो पत्रकारको संगठन बनेको छ ।

विगतमा प्रेस चौतारी जिल्लाको पहिलो संगठन थियो भने प्रेस सेन्टर तेस्रो थियो । पहिलो र दोस्रो मिलेर शक्तिशाली संगठन बनेको हो । दुई संगठन आ आफ्नो भूमिकामा हुँदा दोस्रो स्थानमा रहेको नेपाली (कांग्रेस) निकट प्रेस युनियन अहिले पनि दोस्रो स्थानमा कायम छ । तेस्रो स्थानमा राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघ पर्दछ ।

पाण्डेलाई सिपि शर्मा पत्रकारिता पुरस्कार

स्व. पत्रकार सिपि शर्माको नामबाट वितरण गरिदै आइएको सिपि शर्मा पत्रकारीता पुरस्कारबाट प्रेस संगठन नेपाल कपिलवस्तुका सदस्य जानु पाण्डे सम्मानित हुनुभएको छ । पूर्व प्रेस चौतारीको उपाध्यक्ष रहनुभएका पाण्डेले १० हजार राशीको सिपि शर्मा पत्रकारिता पुरस्कार पाउनुभएको हो । उहाँलाई पूर्व मन्त्री खनालले सम्मान गर्नुभएको थियो ।


एक दर्जन प्रेस संगठनमा प्रवेश


विभिन्न संगठन परित्याग गर्दै प्रेस संगठन कपिलवस्तुमा एक दर्जन पत्रकार प्रवेश गरेका छन् । शनिबार भएको कार्यक्रममा कृष्णनगर र तौलिहवा क्षेत्रका एक दर्जन पत्रकार संगठनमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेहरुमा कृष्णनगरका अंकुश कुमार श्रीवास्तव, तौलिहवाका गुलाम अलि, कृष्णनगरकै प्रिन्स मिश्रा, अनेक पाण्डे लगायत रहनुभएको छ । उहाँहरु प्रेस युनियन र मधेस केन्द्रित दल निकटका पत्रकार संघ संगठनमा आवद्ध रहदै आउनुभएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ९ : ४३ बजे