९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रेस संगठन नेपाल कपिलवस्तुको प्रशिक्षणः कुन नेताले के भने ?



मायादेवी अनलाइन, चारनम्बर ।
(नेकपा) का स्थायी समिति सदस्य चक्रपाणी खनाल ‘बलदेव’ले कपिलवस्तुमा ‘बाबुहरु र सामन्तवाद’संग लड्दा लड्दा हैरान भएको बताउनुभएको छ । ०३४ साल देखि यहाँका बाबुहरुसंग आफु लड्दै आएको स्मरण गर्दै यसका अवषेशहरु अहिले पनि हटाउन नसकिएको बताउनुभयो ।
नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल कपिलवस्तुको एक कार्यक्रममा बोल्दै नेता खनालले जिल्लाको दक्षिणी क्षेत्र विकासको मूल प्रवाहमा आउन अझै नसकेको जिकिर गर्नुभयो । त्यसको मूल समस्या बाबुहरु र सामान्तबाद भएको उहाँको दाबी छ । आफुहरुले सबै विकास गर्यौ भनेर दाबी नगर्ने उल्लेख गर्दै विकासको चेतना राम्रै जगाउन भने सकेको बताउनुभयो । ५ बर्षे कार्यकालमा अहिलेसम्म नभएको विकास गरेर देखाउने उहाँले अठोट व्यक्त गर्नुभयो ।
(नेकपा)का केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले सबै तहमा सरकार नेकपाको भएपनि कर्मचारीतन्त्रको कारण सोचेजस्तो काम नदेखिएको औल्याउनुभयो । कतिपय व्यक्ति सरकारको विरुद्ध नकरात्मक खेती गर्न उद्धत रहेको भन्दै त्यस तर्फ सचेत बन्नुपर्नेमा जोड दिनुभयो । पार्टीले गरेका राम्रा कामको मिडियाले प्रचार प्रसार गर्न डर मान्नु नहुने बताउनुभयो ।
अर्का केन्द्रिय सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति डोर प्रसाद उपाध्यायले कम्युनिष्टको सरकार भएकोले जनताका आशा असिमित रहेको बताउनुभयो । कम्युनिष्टले नै राम्रो विकास गर्छन भन्ने आम धारणा रहेको उल्लेख गर्दै यो सरकारबाट जनताले धेरै आशा राखेको बताउनुभयो । सरकार जनताप्रति बढीभन्दा बढी उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
केन्द्रिय सदस्य विमला घिमिरेले पार्टी निकट पत्रकारले सरकारका राम्रा कामको मात्र प्रचार गर्नुपर्ने धारणा राख्नुभयो । काम गर्दा केही कमिकमजोरी हुने भन्दै त्यसलाई सच्चाउन नेतृत्वलाई नभनेर समाचार लेख्ने काम गर्न नहुने बताउनुभयो ।
(नेकपा) प्रदेश कमिटीका कार्यालय सचिव तथा पूर्व संविधानसभा सदस्य बलराम अधिकारीले विकास केन्द्रित पत्रकारिता अहिलेको आवश्यकता भएकोमा जोड दिनुभयो ।
(नेकपा)का युवा नेता तथा प्रदेश सांसद विष्णु पन्थीले सबैभन्दा दुखको पेशा पत्रकारिता भएको बताउनुभएको छ । मोफसलमा बसेर पत्रकारिता गर्दा सबै क्षेत्रको ज्ञान हासिल गर्नुपर्ने भन्दै पत्रकार भाषा र ज्ञानमा दक्ष हुनुपर्ने बताउनुभयो । कम अध्ययनबाट अगाडी बढाइएको पत्रकारिताले समाजलाई त केही दिदैन् नै, स्वयम व्यक्तिलाई पनि घाटा पुग्छ । कपिलवस्तुका पत्रकार सबै क्षेत्रमा अगाडी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
(नेकपा)का जिल्ला अध्यक्ष झविलाल पोख्रेलले अदालतमा नागरिकले सजिलो तरिकाले न्याय पाउन छाडेको भन्दै पत्रकारले आफ्नो कलम त्यतातिर लैजान आग्रह गर्नुभयो । न्यायाधिस पैसाको भरमा चल्न थालेका गुनासा व्यापक आउन थालेको भन्दै यसले आफुलाई गम्भिर बनाएको बताउनुभयो । लोकतन्त्रमा अदालतको न्याय सम्पादन निष्पक्ष हुनुपर्ने बेला रकमको चलखेल हुन थालेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
प्रेस संगठन कपिलवस्तुका संयोजक डिलाराम भुसालको अध्यक्षतामा भएको कार्यक्रममा तत्कालिन प्रेस चौतारी र प्रेस सेन्टरबीच संगठन एकता पछि मनोनित भएका सदस्यहरुलाई सपथ खुवाइएको थियो । कार्यक्रमको सञ्चालन संगठनका सह संयोजक हरि अधिकारीले गर्नुभएको थियो । पार्टी प्रचार विभाग सचिव चेतना अधिकारीको स्वागत मन्तव्य र प्रचार विभाग प्रमुख लक्ष्मण बेल्वासेले कार्यक्रम माथिको उद्धेश्यलाई प्रकाश पार्नुभएको थियो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ७ : ०४ बजे