९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पत्रकारिता सजिलो पेशा होइन, दुखको पेशा होः विष्णु पन्थी



मायादेवी अनलाइन, चारनम्बर ।
(नेकपा)का युवा नेता तथा प्रदेश सांसद विष्णु पन्थीले सबैभन्दा दुखको पेशा पत्रकारिता भएको बताउनुभएको छ । मोफसलमा बसेर पत्रकारिता गर्दा सबै क्षेत्रको ज्ञान हासिल गर्नुपर्ने भन्दै पत्रकार भाषा र ज्ञानमा दक्ष हुनुपर्ने बताउनुभयो । “सामान्य ज्ञानले पत्रकारिता पेशा अगाडी बढ्न सक्दैन्, प्रेस संगठन नेपाल कपिलवस्तुको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै सांसद पन्थीले भन्नुभयो, “त्यसैले म त भन्छु पत्रकारिता पेशा सजिलो पेशा होइन्, निकै दुखको पेशा हो ।” कम अध्ययनबाट अगाडी बढाइएको पत्रकारिताले समाजलाई त केही दिदैन् नै, स्वयम व्यक्तिलाई पनि घाटा पुग्छ । कपिलवस्तुका पत्रकार सबै क्षेत्रमा अगाडी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
आर्थिक समृद्धि विना पत्रकारिता पनि नटिक्ने भन्दै यता तर्फ पत्रकारको कलम चल्नुपर्ने बताउनुभयो । बजार सानो हुँदा मोफसलका मिडिया सञ्चालनमा समस्या हुने गरेको भन्दै जति उद्योगधन्दाको विकास हुन्छ, त्यति पत्रकारिता पनि मजबुत हुने उल्लेख गर्नुभयो । कपिलवस्तुमा ठूला ठूला लगानीकर्ता भित्त्राउने कोशिस भैरहेको भन्दै यहाँका नकरात्मक कुरा भन्दा बढी सकारात्मक कुरालाई पत्रकारले ‘हेडलाइन’ बनाउनुपर्ने बताउनुभयो । ‘अहिले कपिलवस्तुमा आएर लगानी गर्न चाहने उद्योगी बढ्न थालेका छन्, यो जिल्लाको विकासको लागि राम्रो कुरा हो । पत्रकारले जिल्लाका नकरात्मक कुरा बढी लेख्न थाले भने वातावरण विग्रन सक्छ सांसद पन्थीले भन्नुभयो,–“सबैको लागि कपिलवस्तु शान्त छ भन्ने गराउनका लागि पत्रकारले समृद्धिको क्षेत्रमा कलम चलाउँनु पर्छ । उद्योगभन्दा जति सञ्चालन गर्न सक्यौं, त्यति तपाईहरुका मिडिया पनि आर्थिक रुपमा बलिया हुन्छन्, यता तर्फ सोच्नुस ।”
हत्या हिंसाका घटनालाई अतिरञ्जित गरेर प्रचारप्रसार गर्न नहुनेमा पनि उहाँले जोड दिनुभयो । भारतीय मिडियामा हत्या हिंसाका घटनाले सबैभन्दा बढी प्राथमिकता पाउने गरेको उल्लेख गर्दै नेपालमा त्यस्तो पत्रकारिता अपनाउन नहुने बताउनुभयो । हत्या, हिंसाका मात्र समाचार नबिक्ने भन्दै आर्थिक विकास र समृद्धिका समाचारहरु पनि प्रयाप्त बिक्ने उहाँले चर्चा गर्नुभयो । कपिलवस्तुका मिडिया र पत्रकारले कपिलवस्तु बुद्धको भूमि हो भन्ने संसारभर परिचित बनाउन भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ६ : ०७ बजे