९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश स्थापना दिवसः बाणगंगाका १८ विपन्न परिवारको दैलोमा तरुण दल र नेविसंघ



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपाल तरुण दल जिल्ला कार्यसमिति कपिलवस्तु र नेविसंघ क्षेत्रीय समितिले सामाजिक र मानवीय कार्य गरेर प्रदेश स्थापना दिवस मनाएका छन् । ५ नम्बर प्रदेश स्थापना भएको ठिक २ बर्ष पुगेको सन्दर्भमा मानवीय सेवाको अभियानमा जुटेका यी २ संगठनले शनिबार वडा नम्बर २, ३ र ४ का १८ परिवारलाई कपडा र खाद्द्धान्न बाँडेर स्थापना दिवस मनाएका हुन् ।
बाणगंगा नगरका वडा नम्बर ३ र ५ को गंगौली, भक्तौली र झुँगाका १३ तथा वडा नम्बर २ मा रहेको राजपुर र सुकुम्बासी बस्तिमा रहेका ५ गरी १८ विपन्न परिवारलाइ दाल चामल र लत्ताकपडा बाँडिएको तरुण दलका अध्यक्ष शक्ति सिँह ठकुरीले जानकारी दिनुभयो । प्रदेश स्थापना दिवसमा नगरले विशेष कार्यक्रम राख्नु पर्नेमा नगरले केही नगरेको हुनाले आफूहरुले सानो काम गरेर प्रदेश उत्सव मनाएको उहाँको भनाई छ । नेविसंघ क्षेत्र नम्बर १ का सभापति चन्द्रकान्त पोख्रेलले प्रदेश सरकारले गरिब र विपन्न जनतालाई केही दिन नसकेकोले सन्देश दिन यो काम गरेको बताउनु भयो ।


दिवसमा घरमा लत्ता कपडा र खाद्धान्न लिएर विद्यार्थी र युवा आफ्नो आँगनमा आएपछि राजपुर सुकुम्बासी बस्तिकी हरिकला न्यौपानेले खुसी ब्यक्त गर्नुभयो । आफूहरुलाई एक सरो लगाउन र एक छाक खान पनि धौधै हुँदा समेत प्रदेश सरकारले नहेरेको अवस्थामा केही विद्यार्थी र युवाको सहयोगले ठुलो टेवा दिएको न्यौँपानले बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेसका नेता र कार्यकर्ता पनि हाजिर थिए । विद्यार्थी र युवाको खाजा खर्च कटाएर जम्मा गरेको पैसाले सहयोग गरेको उनीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  १२ : ५५ बजे