९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रतिनिधि सभा वैठकमा प्रधानमन्त्रीको सम्बोधन, ‘मरूँ कि जस्तो पनि लाग्छ, तर ठीकै छ !’



काठमाण्डौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम कारबाहीबारे सदनलाई जानकारी गराउनु भएको छ । सरकार गठनको दुई वर्ष पूरा भएको उपलक्ष्यमा शनिबार बिहान प्रतिनिधिभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निरास मुद्रामा मन छुने सम्बोधन गर्नुभएको छ । एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुलाई पनि एउटा उपलब्धिका रूपमा लिनुपर्ने बताउँदै सरकारबारे बाहिर आएका टिप्पणीले मन दुखाएको सन्देश सहितको सम्बोधन गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका काममाथि कतिपयले गरेको तर्क सुनेर आफू विस्मित हुने गरेको बताउनु भयो । ओलीले सरकारले केही गरेन, गफ गरेर हुन्छ ? भन्नेहरूप्रति कटाक्ष पनि गर्नुभएको छ । ‘सरकारको कामबारे कुरा गर्दा गफ गरेर हुन्छ, गर्छु भनेर हुन्छ, काम गरेको देखिनुपर्‍यो। तथ्यरआँकडा प्रस्तुत हुनपर्‍यो भन्ने सुन्थें,’ उहाँले भन्नुभयो, ‘परिवेश अहिले बदलिएको देखियो। थेगोजस्तै बनेको छ, अंक र आँकडाले हुन्छ ? ग्लोबल इन्डेक्समा होइन, जनतामा इम्प्रेसन के छ?भन्नेजस्ता कुरा सुनिन थाल्यो।’

उहाँले यस्ता तर्क सुन्दा आफू विस्मित हुने गरेको उल्लेख गर्दै थपे, ‘यस्ता कुरा सुनेर बेलाबेला विस्मित हुने गर्छु। मरूँ कि जस्तो पनि लाग्छ। तर ठीकै छ।’

प्रधानमन्त्रीले सुन तस्करीलाई पक्राउ गरेर कारबाही गरिएको बताउनु भएको छ । सुन तस्करी तहसनहस बनाइएको दाबी प्रधानमन्त्रीको छ। तस्करीमा संलग्नहरू जेलमा रहेको उहाँले बताए। ‘मझेरीदेखि जंगलसम्म सुन लुकाउनेलाई कारबाही गरिएको छ,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्रीले सडक कालोपत्रलाई सरकारले प्राथमिकता दिएको बताउनु भयो । ‘प्रतिदिन करिब छ किमी सडक कालोपत्र भइरहेको छ। सरकार बनेपछि तीन हजार छ सय ३६ किमी सडक कालोपत्र भएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

तीन हजार किमीभन्दा बढी सडक गाभ्रेल भएको उहाँले बताउनुभयो ।

सरकार बनेपछि तीन सय २५ वटा पुल निर्माण भएको प्रधानमन्त्रीको भनाइ छ। यो चालु आर्थिक वर्षमा मात्रै ४१ पुल बनेको प्रधानमन्त्री ओलीले बताउनु भयो ।
देश अब तुइनमुक्त भएको प्रधानमन्त्रीले दाबी गर्नुभयो । एक सय ३० भन्दा बढी तुइन रहेकोमा अहिले डेढ दर्जन पनि नरहेको र ती तुइन विस्थापित गरी पुल निर्माण कार्य भइरहेको बताउनु भयो ।
ओलीले एउटै सरकार दुई वर्षसम्म चल्नुलाई पनि उपलब्धिका रूपमा लिनुपर्ने उल्लेख गर्नुभएको छ । छन्।

‘एउटै सरकार दुई वर्ष चल्दा पनि उपलब्धिका रूपमा लिनुपर्दो रहेछ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले निर्वाचनका बेलाका कुरा सम्झिनुभयो । ‘कम्युनिष्टको सरकार बन्यो भने हाँस्न त के रून पन पाइँदैन भन्ने थियो। तर वास्तविकता त्यस्तो थिएन,’ उहाँले भने, ‘लोकतन्त्र संकटमा परेको अधिनायकवाद आउन लागेको भन्ने होइन।’

उहाँले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको भन्दै माइतीघरमा कहिले गुठी विधेयक अवतारमा त कहिले मिडिया विधेयकलाई लिएर चर्चा भएको पनि बताउनुभयो । उहाँले गरिबी घटाउन र रोजगारी वृद्धिमा सरकारले काम गरिरहेको बताउनु भयो। रोजगारीमा एक प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ।

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  १२ : ४६ बजे