मायादेवी अनलाइन, चारनम्बर ।
प्रदेश ५ स्तरीय डान्सिङ स्टारको उपाधि कपिलवस्तु वाणगंगाकी युना कार्कीले चुमेकी छिन् । तीन महिना देखि चलेको ‘डेकोर कपिलवस्तु डान्सिङ स्टार’ को पहिलो सिजन शुक्रबार राती सकिएको छ ।
चन्द्रौटामा भएको फाइनल कार्यक्रममा कार्कीले उपाधि जितेकी हुन् । उपाधि जितेसंगै कार्कीले नगद रु. १ लाख ११ हजारसहित आकर्षक विभिन्न गिफ्ट प्राप्त गरिन् ।
डान्सिङ स्टारमा बुटवलकी सोम्या पाण्डे दोस्रो भइन् । पाण्डेले नगद रु.५५ हजार सहित आकर्षक गिफ्ट पाइन भने तेस्रो भएका चन्द्रौटाका मिसन घर्ती मगरले नगद रु. ३० हजार पाएका छन् ।
छमछमी कला केन्द्रको आयोजनामा प्रदेश स्तरीय डान्सिङ स्टार सञ्चालन भएको थियो । २ सय ७७ प्रतिस्पर्धीका बीचबाट उपाधि प्राप्त गरेकी कार्कीले मायादेवी अनलाइनसंग खुसी व्यक्त गर्दै आफुलाई साथदिने सम्पूर्णमा धन्यवाद दिइन् ।
आयोजकले डान्सिङ स्टारमा ‘आइएमई पे’ र टिकटबाट भोटिङ दिने व्यवस्था मिलाएको थियो ।
उपाधि विजेता कार्की सानै देखि डान्समा अब्बल थिइन् । उनले २०७३ सालमा कपिलवस्तु डान्स आइडलमा दोस्रो स्थान हासिल गरेकी थिइन् । यस्तै विभिन्न डान्स सम्बन्धि प्रतिस्पर्धामा उनले उपाधि जित्दै आइएकी छिन् ।
आफ्नो छोरीले प्रदेशस्तरकै उपाधि जितेपछि उनकी आमा शान्ति क्षेत्रीले छोरीलाई साथ, सहयोग र समर्थन गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेकी छिन् ।
फाइलन कार्यक्रममा चर्चित नायक आएएन सिग्देल, नायिका पुजना प्रधान, लोक तथा दोहोरी गायक सन्दिप न्यौपाने लगायत राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहेको डेकोर कपिलवस्तु डान्सिङ स्टारका संयोजक सुमन पौडेलले जनाए । कपिलवस्तुबाट प्रदेशस्तरको कार्यक्रम गर्न निकै चुनौती भएपनि सबैको साथ र सहयोगले सफल भएको पौडेलले बताए ।
कार्यक्रमको बुद्ध टेलिभिजन बुटवलले प्रशारण गर्दै आएको छ ।
प्रतिक्रिया