९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सेनामा राजीनामा दिने बढे



काठमाडौं ।
नेपाली सेनाका उच्च तहका अधिकारीहरूले राजीनामा दिने क्रम बढेको छ । सैनिक मुख्यालयका अनुसार यो वर्ष साउनदेखि पुससम्ममा मात्र ४९ जना उच्च अधिकारीहरूले राजीनामा दिएका छन् । रक्षा मन्त्रालयका अनुसार छोटो समयमा यति धेरै सैनिक उच्च पदाधिकारीहरूको राजीनामा जंगीअड्डाबाट स्वीकृतिका लागि मन्त्रालयमा आएको यो पहिलो पटक हो ।

राजीनामा दिनेमा अधिकृत क्याडेट, सहायक सेनानी, उपसेनानी, सहसेनानी, सेनानी, प्रमुख सेनानी, महासेनानी, सहायक रथीदेखि उपरथीसम्म रहेका छन्  । प्राविधिक उपरथी सुधीर श्रेष्ठ तथा सहायक रथीद्वय जीत गुरुङ र अजय राईले केही समयअघि मात्र राजीनामा दिएका थिए  । यस्तै, केही महासेनानीसहित अन्य अधिकृत तहका अधिकारीहरूले राजीनामासमेत गरेका छन्  ।

तथ्यांकअनुसार साउनमा ४, भदौ र असोजमा १/१, कात्तिकमा १७, मंसिरमा १६, पुसमा १० जना सेनाका उच्च अधिकारीहरूले राजीनामा दिएका हुन्  । अधिकतरले घरायसी कामलाई राजीनामा दिनुको कारण उल्लेख गरेका छन्  । तर स्रोतका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले चालेको कदममाथि असन्तुष्टि जनाउँदै राजीनामा दिन थालेका हुन्  ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने संगठनमा माथि जाने बाटो सकिएकाले र अवकाशपछि अन्य ठाउँमा जागिर नपाउने हुनाले उनीहरूबाट राजीनामा आएको दाबी गरे । –कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ८ : २४ बजे