९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश सरकार स्थापना भएको दुई बर्ष पूराः मुख्यमन्त्रीद्धारा शुभकामना



बुटवल ।
प्रदेश नं ५ सरकार गठन भएको दुई वर्ष पुगेको छ । आजभन्दा दुई बर्ष अगाडी गठन भएको सरकारले स्थायी राजधानी र नामकरण भने घोषणा गर्न सकेको छैन् । यद्यपि दुई वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणका लागि आधार तयार गरेको दाबी गरेको छ ।
सरकारले प्रदेशको भौगोलिक अवस्था र अवस्थितिलाई मध्यनजर गरी कृषि उत्पादन, उद्योग र पर्यटन क्षेत्रलाई प्रदेशको समृद्धिका आधारका रूपमा लिएर काम अघि बढाएको जनाएको छ । प्रदेशका वस्तुस्थितिका बारेमा गहिरो विश्लेषण गरी योजनाबद्ध ढङ्गले काम अगाडि बढाउन प्रदेश योजना आयोगको गठन गरी आवधिक योजना तयार गरेको छ । भौतिक पूर्वाधार र मानवीय पूँजीको विकासका साथै सामाजिक न्यायमा आधारित सन्तुलित विकास गरी गुणस्तरीय जीवन र दिगो विकासका लक्ष्य हासिल गर्ने विषयलाई आवधिक योजनामा समेटिएको छ ।
प्रदेश सरकारका नीति तथा कार्यक्रमलाई आधार बनाएर सरकारले लिएको ‘समृद्ध प्रदेश, खुशी जनता’ को सोच हासिल हुनेगरी प्रदेशमा उपलब्ध प्राकृतिक सम्पदा र भौगोलिक विविधताको अधिकतम प्रयोग गरी सामाजिक न्यायमा आधारित विकासका लागि आवधिक योजनाअनुरुप काम अघि बढाइएको योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले बताउनुभयो । समृद्धिका लागि कृषि, पर्यटन र उद्योगको विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढङ्गले कार्यक्रम कार्यान्वयन गरिएको उहाको भनाइ छ ।
यता स्थापना दिवसको अवसर पारेर मुख्यमन्त्री शंकर पोख्रेलले शुभकामना सन्देश जारी गर्नुभएको छ । शुभकामना जारी गर्दै मुख्यमन्त्री पोखरेलले संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक रहेको बताउनुभएको छ ।
उहाँले नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाई ध्यान दिइरहेको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ–‘संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाई हामी ध्यान दिइरहेका छौं । समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ ।’


मुख्यमन्त्रीको शुभकामना सन्देश


प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस ऐतिहासिक अवसरमा म नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । नेपाली जनताको लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । नेपालको संघीय शासन प्रणाली मौलिक खालको शासन प्रणाली हो । संघीय शासन व्यवस्थामार्फत जनआकांक्षा पूरा गर्न हामी कृतसंकल्पित छौं । जननिर्वा्चित राजनैतिक नेतृत्वले शून्यबाट काम थाल्दै अघि बढ्दा आज दुई वर्ष पुगेको छ । यहाँसम्म आइपुग्दा आधारभूत रुपमा अघि बढ्ने संरचना खडा गर्दै पूर्णतः क्रियाशिल हुने वातावरण तयार भएको छ । प्रदेशको आवधिक योजना तयार भएको छ । आफूलाई चाहिने आधारभूत कानून निर्माण गर्न सफल भएका छौं । कर्मचारी समायोजन टुंगो लागेर प्रशासनिक संरचना तयार भई क्रियाशिल भएको छ । शून्यबाट काम थाल्दै अघि बढेको प्रदेश सरकार नागरिकले सुन्ने र देख्ने विन्दुमा आइपुगेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित हुनुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्दतिको रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् । संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । प्रत्येक तहका एकल सहित साझा संवैधानिक अधिकार र दायित्वहरु पूरा गर्न बुझाईमा एकरुपता, आपसी सामञ्जस्यता र सहकार्य जरुरी पर्छ । संविधानको मर्मलाई आत्मसात गर्दै संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यक छ । नागरिकको विकास र समृद्धिको आकांक्षालाई पुरा गर्न संघीयताको व्यवहारिक कार्यान्वयनलाई हामी ध्यान दिइरहेका छौं । समृद्ध प्रदेश,खुसी जनताको लक्ष्य बोकेर प्रदेश सरकार अघि बढिरहेको छ । संघीय सरकारले समृद्ध नेपाल,सुखी नेपालीको लक्ष्य अघि सारेको छ । हामी प्रदेशको विकास र समृद्धिको बाटोवाट उक्त लक्ष्य पुरा गर्न सार्थक योगदानका लागि संकल्पित छौं । प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु । अन्त्यमा, प्रदेश स्थापना दिवसका अवसरमा सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री

प्रकाशित मिति : ३ फाल्गुन २०७६ शनिबार ००:००  ६ : १८ बजे