९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तु भलवाडमा प्रदेशको औद्योगिक ग्राम स्थापनाको तयारी



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वाणगंगाको भलवाडमा औद्योगिक ग्राम स्थापना हुने भएको छ । ‘एक प्रदेश निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम’ स्थापना कार्यक्रम अनुसार वाणगंगा ९ भलवाडमा औद्योगिक ग्राम बनाउने तयारी भएको हो ।
प्रदेश साँसद विष्णु पन्थीले भलवाडको वरगदवामा निर्माण हुने औद्योगिक ग्रामको उत्कृष्ट विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले आफनो निर्वाचन क्षेत्रमा निर्माण हुने औद्योगिक ग्रामको लागि प्रदेश सरकारबाट डिपिआर तयार गरी श्रोत व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिनुभयो । साँसद पन्थीले औद्योगिक ग्रामबाट यसक्षेत्रको रोजगार सिर्जना गरी आर्थिक, सामाजिक रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने गरी उत्कृष्ट डिपिआर बनाउनु पर्ने सुझाव दिनुभएको छ ।
वाणगंगा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले नगरपालिकामा आयोजना गरेको डिपिआर तर्जुमा सम्बन्धी सरोकारवाला संगको छलफल कार्यक्रममा साँसद पन्थीले सवै पक्षको अध्ययन गरी छिटो डिपिआर बनाएर काम शुरु गर्नुपर्ने बताउनुभयो ।
उहाँले कोइली नदीको पानीलाई उचित व्यवस्थापन र भण्डारण गरेर बहुउपोगी बनाउने योजना डिपिआरमा समावेश गर्नुपर्ने सुझाव दिनुभएको छ । डिपिआरको कार्य सिद्धार्थ इन्ष्टिच्युट अफ रिसर्च एण्ड कन्सलटेन्सी सर्भिस प्रा.लि.ले शुरु गरेको हो ।
कार्यक्रममा नगर उपप्रमुख चक्रपाणी अर्यालले नगरपालिकाले आफनो नगरको स्थापना हुन लागेको औद्योगिक ग्रामको लागि आवश्यक श्रोत व्यवस्थापन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा वडा अध्यक्ष धु्रब बेल्वासले औद्योगिक ग्रामको लागि स्थानीय समुदायको साथ र सहयोग हुने बताउनुभयो ।
उहाँले आफनो वडा प्राकृतिक सम्पदा, स्थानीय श्रोत साधनको उपलब्धता र विभिन्न सम्भावना रहेकोले औद्योगिक ग्रामबाट धेरै लाभ लिन सकिने बताउदै औद्योगिक ग्रामको लागि ७ विगाहा जग्गा आवश्यकता भएपनि १३ विगाहा जग्गा उपलब्ध भएको वडा अध्यक्ष बेल्वासेले बताउनुभयो ।
पूर्वपश्चिम राजमार्ग संग नजिकमा रहेको र नगरपालिकाको चक्रपथसंग जोडिएको क्षेत्रमा स्थापना हुने उक्त ग्रामले नगरकै आर्थिक समृद्धिमा टेवा पुग्ने बताइएको छ । घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख राजन केसी, कपिलवस्तु उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष टोपनारायण भण्डारी, समाजसेवी पोमनारायण पौडेल, कपिलधामका अध्यक्ष शंकर आचार्य लगाएतले औद्योगिक ग्रामको डिपिआर तर्जुमा सम्बन्धी छलफलमा विभिन्न निकायले सुझाव दिएका छन् ।
वाणगंगा नगरपालिका वडा नं. ९ अन्तरगत नदीले धार परिवर्तन गरेको नदी उकास जग्गामा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । गतवर्ष संघीय सरकारले प्रारम्भिक डिपिआरको लागि सम्भाब्यता अध्ययन गरेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ७ : १६ बजे