९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रथम शहीद लखन थापा मगरको स्मृती दिवस मनाईयो



मायादेवी अनलाइन, चारनम्बर ।
प्रथम शहीद लखन थापा मगरको १४३ औं स्मृती दिवस कपिलवस्तुमा मनाइएको छ । नेपाल मगर संघ कपिलवस्तुको आयोजनामा वाणगंगाको बोडगाउँमा स्मृती दिवस मनाइएको हो । स्मृती दिवसमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले शहीदहरुको बलिदानीले अहिलेको व्यवस्था आएको स्मरण गर्नुभयो । शहीदले देखाएको बाटोमा हिड्न सके महत्वपूर्ण राजनीति उपलब्धी हासिल हुन सक्ने भन्दै यसमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटी सदस्य कृष्ण पौडेलले शहीदका सपना पूरा गर्न सबै आ आफ्ना ठाउँबाट कर्तव्यनिष्ट भएर लाग्नुपर्ने बताउनुभयो । राणा, पञ्चायत फाल्नका लागि हजारौं नागरिकले ज्यानको बलिदानी दिएको भन्दै शहीद परिवारको भावना अनुसार अगाडी बढ्नुपर्ने बताउनुभयो । नेपालका प्रथम शहीद लखन थापाको स्मरण गरेर नेपाल मगर संघले राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो ।
नेपाल मगर संघ कपिलवस्तुका जिल्ला अध्यक्ष मोहन सिञ्जालीले अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रबक्ता विष्णु पौडेल, वडा नं. ३ का वडा सदस्य कुलबहादुर सोमै, नेपाली कांग्रेसका नगर उपसभापति विष्णु थापा लगायत मगर समुदायका अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ५ : ४८ बजे