९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेश ५ सरकार प्रादेशिक एक्स्पोको तयारीमा



बुटवल ।
प्रदेश ५ सरकार दाङको बेलझुण्डीमा प्रादेशिक एक्स्पो आयोजना गर्ने तयारीमा जुटेको छ।

प्रदेश सरकार स्थापनाको अवसर पारेर फागुन १० गतेदेखि १२ गतेसम्म आयोजना हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको प्रदेश ५ सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले जानकारी दिए ।

उनका अनुसार एक्स्पोमा प्रदेश सरकारले २ वर्षसम्म गरेका काम, विकास, विविधता र संस्कृति झल्कनेछन् ।

‘प्रदेश सरकारले २ वर्षमा गरेको कामको जानकारी एक्स्पोमार्फत दिने तयारी गरेको छ’, एक्स्पोको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सचिव खरेलले भने,’१२ जिल्लाका पहिचान र विशेषता झल्कने र व्यवसायिक स्टल पनि समावेश गरिनेछ ।’

एक्स्पोमा सरकारी र निजी क्षेत्रका गरी करीब ५ सय स्टल रहनेछन् ।

एक्स्पोमा १२ जिल्लाका १ सय ९ स्थानीय तहले आफूले गरेका नमूना कामसमेत प्रस्तुत गर्ने अवसरसमेत प्रदेश सरकारले दिने उनले बताए ।

‘समृद्ध प्रदेश, खुसी जनता’को लक्ष्यमा उत्साह र प्रदेशवासीमा खुसी प्रदान गर्न र प्रदेश नं ५ मा नमूना कृषि, नमूना पर्यटन, नमूना स्वास्थ्य, नमूना विकास, नमूना शिक्षा तथा संस्कृित स्थापनामा अभिप्रेरितको लागि मुख्य भूमिका खेल्ने सरकारको अपेक्षा छ ।

दुई वर्षसम्म सरकारले गरेका गतिविधि, प्रगति तथा सेवा प्रवाह सम्बन्धी जानकारीमूलक प्रस्तुति तथा स्टल, प्रदेश ५ का विभिन्न ठाउँका कला संस्कृति झल्कने नाचहरू, दोहोरी गीत, सारङ्गीबादन, भ्रमण वर्ष–२०२०, स्थानीय प्रविधि र उत्पादनहरूको प्रदर्शनी, नवप्रवर्द्धन प्रविधिमा आधारित स्टलहरु एक्स्पोमा राखिने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताए ।

यस्तै वन पैदावार, योगा, मेडिटेसन, र माइन्डफुलनेस कार्यक्रम, युवा तथा बालबालिकाका लागि नविन खेलहरू, शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरू ९स्मार्ट पढाइ र सिकाइको प्रोजेक्टहरू० हेल्थ क्याम्प सञ्चालन लगायतका स्टल पनि एक्स्पोमा रहनेछन् ।

सुरक्षा व्यवस्था र गतिविधिहरूको प्रस्तुति, विपद तयारीको डेमो तथा राहत व्यवस्थापन र वितरण प्रणालीको प्रस्तुति, सूचना सञ्चार क्षेत्र, सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठान, टेलि सेन्टर, टिभी, रेडियो, एफएमका कार्यक्रमहरू, निर्माण कार्यहरूको जानकारी, टिभी, एफएमहरूसँगको बृहत् गोष्ठी, एक्स्पो कार्यक्रम, वृतचित्र प्रदर्शनजस्ता कार्यक्रम पनि रहेको कानुन मन्त्रालयका उपसचिव हरिसिंह धामीले जानकारी दिए ।

एक्स्पोको तयारीका लागि मुख्यमन्त्री शंकर पोख्रेलको संयोजकत्वमा मूल समारोह समिति र उपसमितिहरु बनेका छन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६ शुक्रबार ००:००  ४ : ०६ बजे