मायादेवी अनलाइन, चारनम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय ‘निर्मल’ले (नेकपा) एउटा बहुराष्ट्रिय कम्पनी हो कि जस्तो अनूभुति हुने गरेको बताउनु भएको छ । मुलुकका अन्य पार्टीको अवस्था त नाजुक छ नै कम्युनिष्ट भनिएको (नेकपा) पनि पार्टी नभएर ‘बहुराष्ट्रिय कम्पनी’को ढाँचामा अघि बढेको छ ।
सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग शुक्रबार विहान अन्तर्वार्ता दिँदै उहाँले पार्टी संचालनमा थुप्रै कमजोरी भएको स्विकार गर्दै उहाँले भन्नुभयो,“ एउटा बहुराष्ट्रिय कम्पनीमा धेरै कम्पनीहरुको लगानी हुन्छ । कम्पनी कम्पनी मिलेर कम्पनी चलाउँछन् तर मुनाफा जति माथिल्लो श्रोतले मात्र लिन्छ । (नेकपा)मा पनि ठिक यस्तै भयो ।
इमान्दार कार्यकर्ता श्रमिक र सिपाही बनेर संगठनमा लागे तर फाइदा नेताका पछि लाग्नेले मात्र लिए ।” उहाँले नेकपा बहुराष्ट्रिय चरित्रको बन्नु गुटबन्दी प्रमुख कारण रहेको बताउनु भयो । सहकारीको मोडलमा पार्टी अगाडी बढ्नुको साटो गुटबन्दीमा रमाएर कार्यकर्तालाई नेतृत्वले निरास बनाएको उहाँको टिप्पणी छ । पार्टी एकता पछि एउटै कार्ययोजना, एउटै कार्यदिशामा समस्या त कमै छ उहाँले भन्नुभयो, “तर एउटै मनोविज्ञान बनाउन सकिएको छैन् ।”
संविधान सभा सदस्य तथा सार्वजनिक लेखा समितिका पूर्व सभापति समेत रहनु भएका उहाँले केही निश्चित मान्छेहरु मिलेर पद विभाजन गर्ने, चाकडीमा रमाउनेलाई अवसर दिने, भ्रष्टाचारमा लिप्त हुने, दुख गरेका कार्यकर्ताको भावना नबुझ्ने परिपाटीले पार्टीमा गुटबन्दी उदांगो भएको बताउनु भयो ।
उहाँले पार्टी एकतापछि पनि ‘प्रोएमाले’ र ‘प्रोमाओवादी’को ट्याग भने नेताहरुमा रहेको स्विकार गर्नुभएको छ । उहाँले (नेकपा)का नेताहरुको चरित्रमा पनि ठूलो समस्या देख्नुभएको छ । (नेकपा)मा चाकडीबाज यसरी झँगिएको छ कि उहाँले थप्नु भयो,“भन्दा अप्रिय लाग्न सक्ला । तर म भन्छु । आफ्नो श्रद्धाञ्जलीको वक्तव्यमा सही गर्न मिल्थ्यो भने नेताहरुले पदमा रहेर गर्थे । हिजोका लाल कम्युनिष्ट पार्टी आज दलाल कम्युनिष्ट पार्टी बने ।” नेता उपाध्यायसंग गरिएको पुरा कुराकानी तलको लिंकमा सुन्न तथा हेर्न सक्नु हुनेछ ।
प्रतिक्रिया