नारायण खनाल ।
नशा नशामा दौडिने
आत्मियता र पवित्रताको छहरा
भित्र भित्रै विलीन भै रहँदा
उज्यालोले ढाक्ने रवि समेत
मलिनतामा लिप्त बनेपछि
पूर्णिमा नै औँसीको रात बन्ने गर्छ अचेल ।
तिम्रो स्नेह र श्रद्धा भर्ने तागत
कहाँ गयो र प्रिय
मेरो कलमको घाँटी थिचेर
उनेको शब्द माला
आफ्नो सामथ्र्य गुमाएर
अनायास, अर्थहीन बन्छ अचेल ।
लातहरुले पुजा गर्ने र
गोहीको आँसुमा
कर्तव्य बगाउनेहरुले
सेवाको कात्रो बेरेर
मुर्दालाई चिमोटि चिमोटि मारेपछि
केही हुने रहेनछ प्रिय
कोखहरुमा सन्तान जन्माएर अचेल ।
अचम्म लाग्छ
यहाँ अस्मिता लुटिँदा शिला दुख्छ
बिनाकारण प्रेम सम्बन्ध टुट्छ
त्यही बिछोडको पिडाबोधले
तिम्रो तड्पाइको के अर्थ र प्रिय
धुरी खाँबो आफैले
ध्वजा निल्छ अचेल ।
आदर्श भविष्यको कल्पनामा
प्रेमि बनेकाहरु
आफू भित्र आफैलाई
भेट्न नसके पछि
यादहरुमा पिरोलिनु मात्रै रहेछ प्रिय
बिमानस्थलमा बसेर
पानीजहाज पर्खनु जस्तै अचेल ।
आँखाको नानी भित्र सजिएर
मुटुका धड्कनहरुमा राज गर्ने
सोखमा प्रेममा बाँधिएकाहरुलाई
के थाहा, प्रिय
भौतिक सुख सयलको
बाढीमा भावना बग्न थालेपछि
हिजोको त्यो पवित्र प्रेम
बन्दीगृहमा कैदी बनी
तड्पिरहेछ अचेल ।
प्रतिक्रिया