९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

महोत्सव उद्घाटन गर्दै कृषिमन्त्रीले भनेः भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास भएन



रुपन्देही ।
जिल्लाको फर्साटिकरमा प्रथम राष्ट्रिय शुद्धोधन कृषि, पर्यटन तथा व्यापार मेलाको उद्घाटन गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले कृषिको उर्वरभूमि मधेसका जनतालाई कृषि उद्यमसँग जोडेर समृद्धिको मार्गमा अगाडि बढाउन सरकारले योजना ल्याउने तयारी गरिरहेको बताउनुभएको छ ।

भौतिक विकासको तुलनामा कृषि क्षेत्रको विकास कम भएकोमा चिन्ता व्यक्त गर्दै उहाले अब किसानहरु एकजुट भएर कृषि उत्पादकत्व वृद्धि गरि कृषि क्षेत्रमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

फर्साटिकर व्यापार संघका अध्यक्ष हुमकान्त पाण्डेले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउँदै ग्रामीण उत्पादनलाई बजारीकरणका गर्न मेला आयोजना गरिएको बताउनुभयो । मेलामा १ सय २१ वटा स्टल छन् ।

‘तिनाउ पारीको फर्साटिकर पुरानो बजार हो, मेलालाई सफल बनाउने प्रदेशको उद्योग पर्यटन मन्त्रालय र रुपन्देही व्यापार संघ, सुद्धोधन गाउपालिकासँग पनि सहकार्य गरेका छौ ।’ पाण्डेले भन्नुभयो। ग्रामीण क्षेत्रको उदाउँदो बजार फर्साटिकरको विकासमा मेलाले टेवा पुग्ने उहाँको भनाइ छ ।

मेलामा एक लाख दर्शकले अवलोकन गर्ने र दुइ करोड रुपैयाँ आर्थिक कारोबार हुने लक्ष्य लिइएको उहाले बताउनुभयो । ‘शुद्धोधनको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन उद्योग तथा व्यापारको पूर्वाधार’ भन्ने नाराका साथ फर्साटिकर व्यापार संघको आयोजनामा मेला सुरु भएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ९ : २८ बजे