९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा २५ औं विश्व जनयुद्ध दिवसः कुन नेताले के बोले ?



मायादेवी अनलाइन, चारनम्बर ।
हरेक बर्षको फाल्गुण १ गते माओबादी घटकहरुले मनाउँदै आएको जनयुद्ध दिवस यस बर्ष पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
२५ औं जनयुद्ध दिवसको अवसरमा सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी, मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओबादी), विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र गोपाल किरातीले नेतृत्व गरेको नेकपा (माओबादी केन्द्र) ले फरक फरक कार्यक्रम गरी दिवस मनाएका हुन् ।
सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले जनयुद्ध दिवसको अवसरमा साताव्यापी कार्यक्रम घोषणा गरेर अभियानको सुरुवात गरेको छ । सोही क्रममा विहीबार नेकपा कपिलवस्तुले वाणगंगाको बुङ्चीमा २५ औं जनयुद्ध दिवस तथा जनआन्दोलन, जनयुद्धका शहिदहरुको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै नेकपाका स्थायी कमिटी सदस्य चक्रपाणी खनाल ‘बलदेव’ ले फाल्गुण १ गते नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण दिन भएको स्मरण गर्नुभयो । तत्कालिन नेकपा (माओबादी) ले हतियार उठाएकै बलमा अहिलेको व्यवस्था आएको भन्दै उहाँले यसको जगमा टेकेर सर्वहारा, श्रमजिवी वर्गको उत्थान हुने बताउनुभयो । पार्टी एकतापछि जनयुद्ध दिवसको औचित्य झनै बढेको भन्दै नेता खनालले सम्पूर्ण नेता तथा कार्यकर्ता एक भएर समाजबादको लागि प्रयत्नशिल हुनुपर्ने बताउनुभयो ।
नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्यायले १० बर्षे शसस्त्र युद्धकै कारण मूलुक अहिलेको व्यवस्थामा आएको जिकिर गर्नुभयो । कतिपय व्यक्तिले जनयुद्धलाई आफ्नो तरिकाले बुझ्ने गरेको भन्दै यसको मर्मलाई नबुझि टिप्पणी गर्न नहुने बताउनुभयो । जनयुद्धले हासिल गरेको उपलब्धीलाई संस्थागत गनुपर्नेमा जोड दिने बताउँदै अहिलेको सरकारले त्यसलाई पूरा गर्ने बाचा गर्नुभयो ।
नेकपाका केन्द्रिय सदस्य विमला घिमिरेले ज्यानको आहुती दिएर परिवर्तनका लागि लडेर शहीद भएकाहरुको सपना साकार गर्नुपर्ने बताउनुभयो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वामपन्थी नेता मेघनाथ ज्ञवाली, बलराम अधिकारी, रुद्रलाल बञ्जाडे, विष्णु पन्थी, बालकराम बुढा, कृष्ण पौडेल, जनी बञ्जाडे, सुकै थारु, सत्यनारायण त्रिपाठी, शान्ती हरिजन, प्रभा पौडेल, इन्द्रमणी पौडेल लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : १४ बजे