९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘म सफा गर्छु मेरो नगर’ को नवौं चरणः बरवा चिरिच्याट्ट !



मायादेवी अनलाइन, चारनम्बर ।
‘म सफा गर्छु मेरो नगर’ अभियान अन्तरगत विहीबार बरवामा सरसफाई गरिएको छ । वाणगंगाको वडा नं. ११ स्थित बरवा बजार र त्यस आसपास क्षेत्रमा अभियानको नवौं चरण आयोजना गरिएको हो ।
विहान भएको सरसफाई अभियानमा नगर प्रमुख मंगल प्रसाद थारु, उप–प्रमुख चक्रपाणि अर्याल, नगरका सामाजिक विकास समितिका संयोजक भिष्मराज भुसाल, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल लगायत दर्जनौं सरोकारवाला र बरवाबासी उपस्थित थिए ।
अभियानको शुभारम्भ गर्दै नगर प्रमुख थारुले सरसफाई अभियान नगरको मात्र नभई हरेक नगरबासीको भएको भन्दै यसमा सबैको सहभागीता अपरिहार्य भएको बताउनुभयो । भौतिक विकासले मात्र नगरको समृद्धि नहुने भन्दै नगर प्रमुख थारुले सरसफाई पनि महत्वपूर्ण आधार भएकोले सरसफाई अभियान सञ्चालन गरिएको बताउनुभयो ।
नगर उप–प्रमुख अर्यालले आफ्नो टोल स्वच्छ र हराभरा बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । महिनाको दुई दिन सरोकारवालाहरुले फोहर टिप्दैमा नगर सफा नहुने भन्दै हरेक दिन सरसफाईमा लाग्न आग्रह गर्नुभयो । ‘म सफा गर्छु मेरो नगर’ अभियान नगरको महत्वपूर्ण कार्यक्रम भएकोले जसले आफ्नो टोल फोहररहित बनाउँछ उसलाई बार्षिक रुपमा पुरस्कृत गरिने घोषणा गर्नुभयो ।
नगरका सामाजिक विकास समिति संयोजक भुसालले सरसफाई अभियानमा नगरबासीको सहभागीता उल्लेख्य देखिएको भन्दै खुसी व्यक्त गर्नुभयो । सरसफाई व्यक्तिगत जीवनमा पनि महत्वपूर्ण रहने भन्दै सबै यसमा संवेदनशिल हुनुपर्ने बताउनुभयो । फोहरकै कारण विभिन्न रोगव्याथी, महामारी निम्तिने भन्दै सरसफाई मार्फत जनचेतना फैलाउनु पर्ने बताउनुभयो ।
नगरका स्वास्थ्य अधिकृत भक्तिराम पाण्डेको सञ्चालनमा भएको औपचारिक कार्यक्रम पश्चात दुई घण्टा वरवा र त्यस आसपासका क्षेत्रमा फोहर टिपेर सरसफाई अभियान सञ्चालन गरिएको थियो । अभियानमा सूर्योदय मावि वरवाका विद्यार्थी, टोल विकास संस्था, स्थानीयबासी लगायतको सक्रिय उपस्थिती रहेको थियो ।
वाणगंगा नगरपालिले हरेक महिनाको १ र १५ गते नगरभित्र सरसफाई अभियान सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ७ : ०४ बजे