९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सूचनाको सबैभन्दा सशक्त माध्यम रेडियोः सरोकारवाला



मायादेवी अनलाइन, चारनम्बर ।
विद्युतीय संचारमाध्यम रेडियो सूचनाको सबैभन्दा सशक्त माध्यम भएको सरोकारवालाले बताएका छन् । विश्वमै जतिसुकै सुचना प्रविधिको विकास भए पनि रेडियो नै सूचनाको भरपर्दो माध्यम भएको बताइएको हो । नवौँ विश्व रेडियो दिवसको सन्दर्भमा सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुले जिल्लामा पहिलोपटक आयोजना गरेको ‘रेडियो र विविधता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश सांसद विष्णु पन्थीले सबैको पहुँच पुग्ने र भरपर्दो सूचना सम्प्रेषण गर्ने माध्यम रेडियो भएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि उहाँले नेपालका परिवर्तनमा मुलुकका सामुदायिक तथा नीजि क्षेत्रका रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रेडियोकर्मी र संचालकको प्रशंसा गर्नुभयो । समाजमा रेडियोको प्रभाव राम्रो हुँदा हुँदै पनि गुणस्तरीयतामा ध्यान नदिँदा कतिपय अवस्थामा रेडियोप्रतिको विश्वसनीयतामा प्रश्न खडा भएको भन्दै उहाँले सबै रेडियोहरु समयानुकुल हुन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो–“अहिले रेडियो खोल्ने होडबाजी छ । एकै स्थानमा पनि आवश्यकताभन्दा बढी रेडियोहरु रहेका छन् । गुणस्तरीयता कायम गर्न सकिँदैन भने मर्ज पनि गर्नु पर्दछ ।”
रेडियोहरु धेरै तर बजार सानो भएकाले रेडियोकर्मी र संचालकहरुले धेरै समस्या भोग्नु परेको उहाँको भनाई छ । स्थानीय रेडियोहरुले स्थानीय आवाज मुखरित नगर्ने हो भने समाजले विश्वास गर्न नसक्ने भन्दै स्तरीय कार्यक्रम प्रसारण गर्न उहाँको सुझाव छ । मुलुक संघीय संरचनामा रहेकाले स्थानीय संचार माध्यमको क्षमता वृद्धि र संरक्षणमा स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । सामुदायिक तथा नीजि रेडियोप्रति प्रदेश सरकार सकारात्मक रहेकाले निश्चिन्त भएर काम गर्न रेडियोकर्मीहरुलाई आग्रह गर्नु भयो ।

रेडियो र विवधिता विषयक अन्तक्रियामा जवाफदेहीको भूमिकामा रहनु भएका अकोरावका प्रदेश ५ का उपाध्यक्ष राजु खरालले रेडियोहरुको लोकप्रियता कहिल्यै कम नहुने बताउनु भयो । रेडियोमा शुद्धिकरणको आवश्यकता जरुरी रहेको भन्दै दलिय पत्रकारिता गर्ने संचारमाध्यम ढिलोचाँडो हराएर जाने उहाँले बताउनु भयो । समाजमा विविध पक्षको विशिष्ट रुप भएकाले त्यसका आयामहरुलाई कार्यक्रम, समाचार र सूचनामार्फत रेडियोले टिप्न सके मात्रै रेडियोले विविधतालाई सम्बोधन गरेको ठहरिने उहाँको भनाई छ । सामुदायिक रेडियोमा काम गर्नेहरुमा अनेक समस्या रहेको भन्दै अब अकोरावले यसबारे सोच्नु पर्ने उहाँले बताउनु भयो ।
विशिष्ट अतिथि बाणगंगा नगरका मेयर मंगल प्रसाद थारुले संचार माध्यमहरु कसैको प्रभावमा पर्न नहुने बताउनु भयो । रेडियो अहिलेको युगमा पनि सबैभन्दा सशक्त संचार माध्यम हुनुमा दुई मत नरहेको भन्दै उहाँले सही समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । स्थानीय सरकारले सामुदायिक रेडियोलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको भन्दै समस्याका बेला सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

अन्तरक्रियामा भाग लिनुभएका अधिवक्ता र वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालले परम्परागत ढंगबाट चलेर रेडियो माथि जान नसक्ने बताउनु भयो । समाजमा रहेका अन्याय, उत्पीडन, विकृति, विसंगतिमाथि रेडियोको आवाज बुलन्द हुनुपर्ने भन्दै उहाँले न्याय र सत्यको सिद्धान्तमा काम गर्ने संचारमाध्यमलाई समाजले विश्वास गर्ने बताउनु भयो ।
छलफलमा सहभागी महिला नेतृ गीता भुसालले रेडियोले सबै वर्ग र समुदायको आवाजलाई मुखरित गर्न सके मात्र विविधता झल्कने बताउनु भयो । अझै पनि कतिपय महिला, दलित, जनजाति, आदिबासीका आवाजहरु लुकेको भन्दै त्यसलाई उजागर गर्नु सम्पूर्ण रेडियोको दायित्व भएको उहाँको भनार्य छ ।
नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाल, इलाका प्रहरी कार्यलय पिपराका इन्सपेक्टर आयुश प्रसाद जोशी, भूपू सैनिक खानेपानीका अध्यक्ष राजेन्द्र वीक्रम शाहलगायतले बोल्दै रेडियो सवै बर्ग र समुदायको सारथी भएको बताउनु भयो । समायानुकुल विषयवस्तुलाई क्याच गर्ने रेडियो या कुनै पनि संचारमाध्यम कहिल्यै पनि कमजोर नहुने उहाँहरुको भनाई छ । कपिलवस्तुमा पहिलोपटक रेडियो दिवस मनाइएको भन्दै उहाँहरुले आयोजकको प्रसंसा गर्नु भयो ।
सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति कपिलवस्तुका संयोजक चन्द्रकान्त न्यौपानेको अध्यक्षता, रेडियो हर्टविटका अध्यक्ष कृष्ण भट्टराइको स्वागत, रेडियो मायादेवीका अध्यक्ष नन्दकिशोर शुक्लाको धन्यबाद र रेडियोकर्मी दीपक अनुरागीको संचालनमा सम्पन्न कार्यक्रममा संयोजक न्यौपानेले १२ बर्षको इतिहासमा जिल्लामा पहिलोपटक रेडियोहरु संगठित भएको भन्दै भोलीका दिनमा रेडियोकर्मीको हकहितमा धेरै कामहरु गर्ने प्रतिवद्धता जनाउनु भयो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ६ : ४७ बजे