९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फागुन १ गते सशस्त्र युद्ध सुरु भएको दिन, माओबादी सम्बद्ध पार्टीले जनयुद्ध दिवसका रुपमा मनाउँदै



काठमाडौं ।
माओवादीहरुले आज जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको स्मरणमा माओवादीहरुले जनयुद्ध दिवस मनाउने गर्दछन् ।
दिवसको अवसरमा केपि ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले अलग अलग कार्यक्रम आयोजना गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टीले पार्टी केन्द्रीय कार्यालय धुम्बाराही र पेरिसडाँडा कोटेश्वरमा, वैद्य माओवादी र विप्लव नेतृत्वको नेकपाले विभिन्न स्थानमा कार्यक्रम आयोजना गरेका छन् ।
नयाँ जनवादी क्रान्तिको लक्ष्यसहित बन्दुक उठाएको माओवादीले २०६३ मंसिर ५ गते हतियार बिसाएको थियो । रोल्पा, सिन्धुली र गोरखाका प्रहरी चौकी तथा सरकारी बैंकमा एकसाथ आक्रमण गरी सशस्त्र युद्ध थालनी भएको थियो ।
१० बर्षसम्म चलेको युद्धमा राज्य र विद्रोही दुबै पक्षबाट १३ हजारभन्दा बढी नागरिक मारिए भने हजारौं व्यक्ति घाइते र अंगभंग भए ।
हजारौंको संख्यामा नागरिक वेपत्ता पारिए । माओवादी पूर्वलडाकुहरू नेपाली सेनामा समायोजन भई राष्ट्रिय सेनाको अङ्ग पनि बनिसकेका छन् ।
तर, विस्तृत शान्ति सम्झौतासँगै शान्तिपूर्ण राजनीतिमा आएको बर्षौं बितिसक्दा पनि नेताहरुले विगतमा गरेका बाचा पूरा नगरेको भन्दै जनता र पार्टी कार्यकर्ता निराश भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६ बिहिबार ००:००  ९ : ३० बजे