९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कांग्रेस केन्द्रिय समिति बैठकः ५० प्रतिशत नयाँ क्रियाशील सदस्य थप्‍ने निर्णय



काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यस्यता वितरण गर्ने निर्णय गरेको छ ।

पार्टीको बुधबारको केन्द्रीय कार्यसमिति बैठकले प्रत्येक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता थप गर्ने तथा वडा कार्य समिति र क्षेत्रीय कार्यसमितिका लागि आवश्यक पर्नेसम्म क्रियाशील सदस्यता वितरण खुला गर्ने निर्णय गरेको हो । प्रत्येका वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले वितरण गर्ने निर्णय बैठकले गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

प्रवक्ता शर्माले गत पुस ११ गतेको बैठकले अधिवेशनसम्मका लागि विधानका केही धारा निलम्बन गर्ने भनि गरेको निर्णय बुधबारको बैठकले सर्वसम्मतिले पारित गरको बताए । पार्टीको महाधिवेशनसम्म विधानका ५ वटा धारा निलम्बन गर्ने निर्णय गत पुस ११ गतेको केन्द्रीय कार्यसमिति बैठकले गरेको थियो ।

तर त्यतिबेला वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बैठक नै बहिष्कार गर्दै बहुमतबाट भएका निर्णयहरु मान्य नहुने बताउँदै आएका थिए ।

कांग्रेसले आगामी वर्षको फागुनमा हुने पार्टीको महाधिवेशनको कार्यतालिका पनि केही हेरफेर गरेको छ । प्रवक्ता शर्माका अनुसार यही फागुन १५ गतेभित्र समाजोजन गर्न जिल्लाहरुलाई निर्देशन दिएको छ । कतिपय समायोजन हुन नसकेको जिल्ला वा समायोजनका क्रममा समस्या उत्पन्न भएमा केन्द्रबाट समन्वय गर्ने सहमति पनि बैठकमा जुटेको उनले बताए ।

कांग्रेसले फरक राजनीतिक आस्था राख्ने व्यक्तिहरुमाथि पूर्वाग्रह राखी सुनियोजित रुपमा झुठा मुद्दा लगाउने, संविधानको मर्म र भावना विपरीतका विधेयक ल्याउने सरकारी निर्णयको भर्त्सना गरेको जनाएको छ । शर्माले पार्टीका मुद्दा र राष्ट्रिय मुद्दाहरुको सन्दर्भमा पार्टीका सबै नेताहरु एक ठाउँमा आएको सन्देश पनि बैठकले दिएको बताए ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ११ : ०२ बजे