९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

मासु व्यवसायीको बदमासीः ट्वाईलेटको पानीले सफा गरेर कुखुराको मासु बेच्ने गरेको खुलासा



दाङ ।
दाङको तुलसीपुरमा एक कुखुरा मासु व्यवसायीले ट्वाईलेटको पानीले मासु सफा गर्ने गरेको पाइएको छ । बुधबार गरिएको बजार अनुगमन टोलीले यस्तो अवस्था भएको फेला पारेको हो। कुखुरा मासु मार्केट लाईनको पुर्व तर्फ रहेको खड्का फ्रेस हाउसमा अनुगमन गर्दा ब्रोईलर कुखुराको मासु ट्वाईलेटको पानीले सफा गरेको तथ्य फेला परेको छ ।
ट्वाइलेटको ढोका नजिकै र्भयाङभरि मासु थुपारिएको अवस्थामा थियो भने ढोका नभएको ट्वाइलेटमा प्रयोग गरिने जग र बाल्टी प्रयोग गरेको पाइएको छ । अनुगमन टोलीले १५ केजी मासु जफत समेत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा राँगा मासु पसलमा पनि फोहोर भएको पाईएको छ । साथै फलामका हुक प्रयोग गरेको, मुल्य सुूची देखिने गरी नराखेको, मासु जाली भन्दा बाहिर झुन्ड्याईएको अवस्थामा फेला परेपछि अनुगमन टोलीले तत्काल सुधार गर्न आग्रह गरेको छ ।
यस्तै किराना पसलहरुमा म्याद गुज्रिएका समानहरु फेला परेको छ । बुटवल किराना पसलबाट म्याद गुज्रिएका ५ हजार बराबरको जङफ्रुट, मिठाई, लड्डु, बर्फि लगायतका समान जफत गरिएको अनुगमन समतिले जनाएको छ । अन्य किराना पसलहरुमा पनि उत्पादन मिति नभएका आलु चिप्स, डेरीबाट उत्पादित केक र डुनोटमा उत्पादन र प्रयोग गर्ने मिति नराखीएको अवस्थामा फेला परेको छ ।
कतिपय पसल दर्ता नगरेर सन्चालनमा रहेको समेत पाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण समितिका संयोजक माया आचार्यले बताउनुभयो। अनुगमन टोलीले मापदण्द विपरितका समान जफत गर्नुको साथै आगामी दिनमा सुधार गर्न सुझाव दिएको संयोजक आचार्यले जनाउनुभयो ।
अनुगमनमा उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेवा रावत, तुलसीपुर ईलाका प्रशासन कार्यालयका सूचना अधिकारी यादव भुसाल, पशु सेवा कार्यालयका सुवास आचार्य, ईलाका प्रहरी कार्यालय, पत्रकार लक्ष्मण विश्वकर्मा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  १० : ३७ बजे