९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘पाल्पाली ढाका’ले मुलुकको आर्थिक समृद्धिमा सहयोगः मुख्यमन्त्री



पाल्पा ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पाल्पाली ढाकाले मुलुकको आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ । पाल्पाली ढाका नेपालकै पुरानो र संस्कृतिको एउटा अंग भएको उहाले बताउनुभयो ।
प्रदेश सरकार र यूके एआडी सीप परियोजनाको सहयोग तथा पाल्पाली ढाका संघको आयोजनामा आज तानसेनमा भएको ‘ढाका परियोजना’ सम्बन्धी सम्झौता हस्ताक्षर कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो ।
यो परियोजनाले पाल्पाली ढाकालाई पुनर्जन्म दिनेमा आफू आशावादी रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । कार्यक्रमभर पाल्पाली ढाकाबारे केन्द्रित रहेर मन्त्यब्य राखेका उहाले आफू मुख्यमन्त्रीको सपथ लिने बेलामा पाल्पाली ढाका टोपी बुटवल बजारमा खोज्दा नपाएको सुनाउनुभयो ।
पश्चिमी भेगमा पूर्वेली टोपीले स्थान पाउने तर आफ्नो इतिहास बोकेको पाल्पाली ढाकाको टोपी ओझेलमा परेकोप्रति उहाले चिन्ता व्यक्त गर्नुभयो । पाल्पाली ढाकाको प्रवद्र्धनका लागि प्रदेश सरकारले विशेष ध्यान दिएको उहाले बताउनुभयो ।
यहाँको ढाकालाई प्रचार प्रसार र प्रवद्र्धनको लागि वर्षमा एकपटक विशेष मेला महोत्सव गर्न उहाले सुझाउनुभयो । कम्तिमा पाँच वर्षका बच्चालाई एक ठाउँ भेला गराइ ढाकाको कपडा लगाइ दिएर कार्यक्रम गर्ने र उत्कृष्टलाई पुरस्कृत गर्ने हो भने प्रचारप्रसारमा ठूलो सहयोग मिल्ने उहाको ठम्याइ छ ।
उद्यमीले माग गरे अनुसार संस्थाले प्रक्रिया पूरा गरेर सस्तो व्याजदरमा ऋण लगानी गर्ने उहाले बताउनुभयो । यसअघि मुख्यमन्त्री पोखरेलले पाल्पाली ढाका र यसबाट बनेको विभिन्न ढाँचाहरुको अवलोकन गर्नुभएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  १० : २९ बजे