९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पारस बढईको दादागिरी ! ढाई दशक देखि चलनचल्तीको बाटोमा जेसिवी लगाएर भत्काए



मायादेवी अनलाइन, तौलिहवा ।
ढाई दशक देखि चलन चल्तीको कपिलवस्तु नगरपालिका वडा नं. ४ अन्र्तगत पिपरी–डालपुर ग्राभेल सडक स्थानीय पारस बढईले जेसिवी लगाएर भत्काएका छन् । सडक बनाउँदा आफ्नो मात्र जग्गा पारेका भन्दै उनले ढेड महिना अघि ३० मिटर जति बाटो भत्काएका हुन् ।
उनले बाटोका दुबै तर्फ ठुलो खाल्टो बनाएका छन् भने बाटो खेतमा परिणत भएको छ । ढाई दशक अघि भत्काईएको सो बाटोको जग्गा पारसको ससुराको नाममा थियो । उनले बाटो निर्माणका लागि मौखिक सहमति दिए पछि ७ सय ५० मिटरको बाटो निर्माण भएको स्थानीय बताउँछन ।
सो बाटोमा नगरपालिकाले ३ पटक बजेट लगानी गरी सडक बनाएको जनाएको छ । पिपरी– डालपुर अन्तरगत ७५० मिटर लामो रहेको यो बाटो ६ मिटर चौडा रहेको छ । २५ बर्ष पुरानो यो बाटो पहिलाको चलन चल्तीको बाटो रहेको र हाल विस्तार गरी ठुलो गरिएको हो ।
पारस बढईले बाटो निर्माण गर्दा आफ्नो हक भोगको जग्गामा मात्र सडक बनाएकाले भत्काईएको बताए । आफ्नो जग्गामा मात्र सडक बनाईएको, अर्को पट्टी रहेको ललाउ कुर्मीको जग्गा छाडिएको उनले बताए । ललाउले सडकका लागि जग्गा दिए आफुले पनि दिन तयार रहेको उनले बताए ।
उता ललाउले ढाई दशक देखि चलनचल्तीको बाटो भएको र तत्कालिन समयमा पारसका ससुराले सडक निर्माण गर्दा जग्गा दिएको दाबी गरे । बाटो बिग्रदा डालपुरमा रहेका २३ घरधुरीलाई आउ जाउ गर्न समस्या भएको छ ।
सो बाटोमा दिनहुँजसो दुर्घटना हुने गरेको स्थानीय प्रमोद यादव बताउँछन् । आफु पनि यहि बाटो प्रयोग गरी हिड्दा मोटर साइकलबाट लडेको यादवले बताएका छन् । सो बाटो भई पिपरी आधारभुत बिद्यालयमा जाने ढेड दर्जन बालबालिका समेत समस्यामा परेका छन् ।
कक्षा ५ मा पढ्ने पूजा यादव डालपुर गाउँबाट स्कुल पढन आउदा बाटो खनिएको हुँदा आफु लगायत अरु विद्यार्थीलाई पनि आवत जावतमा समस्या भएको बताउँछिन् । गैर कानुनीरुपमा सडक खनिएको बिषयमा नगरपालिकाले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ । नगर प्रमुख किरण सिंहले चलनचल्तीको बाटो खन्नु अबैधानिक भएको बताए । उनले सो बिषयमा प्रहरी र प्रशासनमा जानकारी गराएको बताए । गैर कानुनीरुपमा सडक खन्नेलाई अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाईने बताए ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  १० : २६ बजे