९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रहरी महानिरीक्षकलाई निर्देशनः व्यक्ति केन्द्रित भएर काम नगर्नू



काठमाडौं ।
गृहसचिव महेश्‍वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई व्यक्ति केन्द्रित भएर काम नगर्न निर्देशन दिएका छन्। गृहमन्त्रालयमा बुधबार ज्ञवालीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाइदिँदै न्यौपानेले यस्तो भनेका हुन्। सुखी नेपाली, सम्बृद्ध नेपालको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सम्पूर्ण सुरक्षा निकायले अझ बढी चनाखो भई लाग्नुपर्छु, उनले भने, प्रहरी संगठनलाई सुधार गर्दै सधै चुस्त राख्न गृह मन्त्रालय क्रियाशील छ। न्यौपानेले ज्ञवालीलाई प्रहरी संगठनको व्यवसायिकतमा लाग्न जोड दिए। व्यक्ति केन्द्रित प्रतिस्पर्धा भन्दा पनि व्यावसायिकतातर्फ ध्यान दिनुस्, उनले भने, अन्य प्रहरी कर्मचारीलाई पनि त्यही अनुसार परिचालित गर्नुहोला। प्रहरी महानिरीक्षक ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको मूल्याङ्कन गर्दै सरकारले आफूलाई प्रहरी महानिरीक्षक बनाएकोमा आभार व्यक्त गरे। उनले नेपाल प्रहरी संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गरे। अवाञ्छित, ध्वंसात्मक र संविधान विपरीतका गतिविधिलाई पूर्ण नियन्त्रण ल्याउन हामी जुट्ने छौुं, उनले भने, नेपाल प्रहरी जस्तोसुकै चुनौतीमा पनि उच्च व्यावसायिक धर्म र उच्च मनोबलकासाथ कर्तव्यपथमा समर्पित रहन प्रतिबद्ध छ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  २ : ५१ बजे