९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फाल्गुण १ गते होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन हुँदै



रोल्पा ।
जनयुद्ध दिवसको अवसरमा रोल्पाको होलेरीमा राष्ट्रिय मिडिया सम्मेलन हुने भएको छ । होलेरी २०५२ फागुन १ गते जनयुद्धको सुरुवात गर्दा तत्कालीन नेकपा (माओवादी)ले आक्रमण गरेको पाँच स्थानमध्ये एक हो ।

सोही स्थानमा रुन्टीगढी गाउँपालिका र नेपाल पत्रकार महासंघ रोल्पा शाखाको आयोजनामा फागुन १ र २ गते ‘होलेरी राष्ट्रिय मिडिया सम्मेलन’ हुन लागेको हो । आयोजकले सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

सम्मेलनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गर्नेछन् । नेकपाका स्थायी समिति सदस्य पुन २०५२ फागुन १ मा माओवादीले होलेरीमा इलाका प्रहरी कार्यालयमाथि गरेको आक्रमणको कमाण्डर हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ सो आक्रमणको सह–कमाण्डर थिए ।

मिडिया सम्मेलनमा स्थानीय र केन्द्रीय पत्रकारितामाथि बहस हुने भएको छ । सम्मेलनमा तीन कार्यपत्र पेस हुने भएका छन् ।

‘किन आउने होलेरी ?’ विषयमा डा. गोविन्द आचार्य, ‘रोल्पाबाटै किन सुरु भयो जनयुद्ध ?’ विषयमा नविन विभाष र ‘रोल्पाको पत्रकारीताको नालिबेली’ विषयमा नेपाल पत्रकार महासंघ रोल्पा शाखाले कार्यपत्र पेस गर्ने छन् ।

सम्मेलनमा विभिन्न ९ सत्रहरुमा बहस हुने जनाइएको छ । ‘होलेरी आक्रमणको कथा’, ‘छाँयामा पत्रकार, छाँयामा समाचार’, ‘संघीयता, समाचार र संचारकर्मी’, ‘भेटीने– देखिने–सुनिने सरकार’, ‘संचार र समृद्धि’, ‘रोल्पाः राजनीतिक द्वन्द्व र अर्थतन्त्र’, ‘ओझेलमा आवाज’, ‘आवाज, अक्षर र आध्यात्म’ र ‘रापती सेरोफेरोः पत्रकारीताको घेरो’ सत्र रहेका छन् ।

सम्मेलनबाट रोल्पा बाहिरबाट नारायण वाग्ले, किरन नेपाल, गुणराज लुईटेल, उमेश चौहान, नारायप्रसाद शर्मा, प्रशान्त अर्याल, टिकाराम यात्री, नारायण अमृत, अखण्ड भण्डारी, नितु पण्डीत, निर्मला शर्मा, भुषिता वशिष्ठ, गंगा विसी, शुसील गौतम लगायतका पत्रकारहरु सहभागि हुने आयोजकले जानकारी दिएको छ ।

तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमाथि आक्रमण गरेर जनयुद्धको सुरुवात गरेको थियो । यसै क्षेत्रमा तत्कालीन जनमुक्ति सेना, नेपालको अस्थायी शिविर राखिएको थियो ।

रुन्टिगढीलाई स्वर्गद्वारी महाप्रभुको जन्म स्थान पनि मानिन्छ ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ९ : ३७ बजे