९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

नेपाल अमेरिका क्रिकेट आज, कसको पल्लाभारी होला ?



काठमाण्डौ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले प्रतियोगिताको अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्दैछ ।

घरेलु मैदानमा भएको लिगमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको नेपाली टिम अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छ । यो प्रतियोगितामा नेपालले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको थियो ।

यो लिगमा नेपालको ओपनिङमा निकै समस्या देखिएको छ । यसका साथै नेपालको ब्याटिङलाइन–अपले पनि राम्रो गर्न सकेको छैन ।

नेपालका लागि अहिलेसम्म चार जना खेलाडीले अर्धशतक बनाएका छन् । जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र विनोद भण्डारी रहेका छन् ।

बलिङमा करण केसी र सुशान भारी बाहेक अन्य बलरहरु पनि जम्न सकेका छैनन् । करणले प्रतियोगितामा तीन खेलमा आठ विकेट लिएका छन् । उनले ओमानविरुद्ध चार तथा अमेरिकाविरुद्ध चार विकेट लिएका थिए ।

अमेरिका पनि अन्तिम खेलमा नेपालसँग जित निकालेर प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ । नेपाल घरेलु मैदानमा अन्तिम खेलमा समर्थकलाई खुशी दिन चाहन्छ ।

प्रकाशित मिति : २९ माघ २०७६ बुधबार ००:००  ८ : ५४ बजे