९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगा नदीको ठेक्का रद्ध हुँदा नगरलाई ४० लाख फाइदा !



मायादेवी अनलाइन, चारनम्बर ।
वाणगंगा नदीको ठेक्का रद्धले नगरपालिकालाई राजश्व आम्दानीमा फाइदा पुगेको छ । वाणगंगा नगरले खुलाएको नदीजन्य पदार्थ उत्खननका लागि दुई ठेकेदार फर्मले ठेक्का पाएपनि ती फर्मले नलिने बताएपछि नगरलाई ४० लाख राजश्व फाइदा भएको हो ।
वाणगंगा नदीको सुठौली कोपवा र वाणगंगा पूल देखि २ किलोमिटर उत्तर मधुवन नाकामा नगरपालिकाले ठेक्का खुलाएको थियो । जसमा रुपन्देहीको एनवी कन्स्ट्रक्सनले ४ करोड ५७ लाख ११ हजार दिएर ठेक्का हालेको थियो । तर एनवीले यो ठेक्का नलिए पछि धरौटी जफत भएको छ । एनवीको २२ लाख ८५ हजार धरौटी रकम गुमेको हो ।
पहिलो पक्ष एनवीले ठेक्का नलिए पछि स्वतः ठेक्का दोस्रो पक्षमा जाने भएपछि नगरपालिकाले ओम सत्य साईलाई ठेक्का दिने प्रक्रिया अगाडी बढाएको थियो । पछि ओम सत्य साईले पनि ठेक्का नलिने घोषणा गर्यो । ओमले ३ करोड ५३ लाख ३३ हजारमा नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का हालेको हो । तर, यसले पनि ठेक्का नलिए पछि १७ लाख ३६ हजार धरौटी जफत भएको छ ।
सार्वजनिक खरिद ऐन २०७३ अनुसार ठेक्का हालेको कुल रकमको ५ प्रतिशत धरौटी जम्मा गर्नुपर्ने हुन्छ । कानुन अनुसार ठेक्का पाइसके पछि एकपक्षिय रुपमा तोड्न पाईदैन । तर, यी दुई ठेक्का फर्मले कानुन विपरित ठेक्का तोडेपछि धरौटी रकम जफत भएको हो ।
वाणगंगा नगरले नदीजन्य पदार्थमा ८० लाख ४ हजार बराबरको न्यूनतम अंकमा ठेक्का खुलाएको थियो । आईई रिर्पोटको प्रतिवेदन अनुसार ३७ हजार ८ सय ६ घनमिटर नदीजन्य पदार्थ उत्खननको लागि यो रकममा नगरले ठेक्का दिएको हो । तर, ठेकेदारले आफ्नो पक्षमा ठेक्का पार्न तीन सय प्रतिशत बढी विगो रकम हालेका थिए ।
दुई ठेकेदार फर्मले ठेक्का नलिए पछि स्वतः तेस्रो पक्षले ठेक्का पाउनुपर्ने प्रावधान भएपनि नगरले तेस्रो पक्षलाई ठेक्का नदिएर रद्ध गर्ने निर्णय गरेको थियो । ठेक्का हाल्दा ठेकेदारले मिलेमतो गरेको आंशका गरेपछि नगरले तेस्रो पक्ष रवि निर्माण सेवालाई ठेक्का दिएको थिएन । रवि निर्माण सेवाले १ करोड ६० लाखमा ठेक्का हालेको थियो । पहिलो र दोस्रो पक्षले ठेक्का नलिए पछि स्वतः आफुले ठेक्का पाउनुपर्नेमा नगरले ठेक्का रद्ध गरेको झोकमा रवि निर्माण सेवा उच्च अदालत बुटवल–तुलसीपुर इजलासमा गएर मुद्धा हालेको थियो । तर, अदालतले नगरकै पक्षमा फैसला गरिसकेको छ ।
नदीमा नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले दोस्रो पटक ठेक्का आह्वान गरेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ८ : १५ बजे