९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

सडक विशेषज्ञ टोलीको प्रतिवेदन बुझ्दै नगर प्रमुख शाहले भनेः ‘सडकको नियमित मर्मतसम्भार गर्छु’



मायादेवी अनलाइन, कृष्णनगर ।
कृष्णनगर नगरपालिका भित्रका मुख्य सडकहरुको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय दातृ निकाय डीएफआईडी अन्तर्गतका सडक विशेषज्ञ टोलीले कृष्णनगरमा रहेका कुल ८ वटा मुख्य सडकको अवस्था अध्ययन पश्चात नगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।
प्रविधिक विशेषज्ञ सहितको टोलीका अध्ययन प्रतिवेदन सिनियर कन्सल्टेन्ट पूर्ण कडेरियाले कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहलाई एक कार्यक्रम गर्दै बुझाएका हुन् ।
सडक अध्ययनमा सडकको क्षेत्रफल, सडकको अवस्था, सडकमा भएका नाली, पुल, कल्भर्ट, टेवा पर्खाल, रोडफर्निचर, सडकको ट्राफिक चापको स्थिति समावेश गरिएको थियो ।
कृष्णनगर नगरपालिका क्षेत्रमा १९३ किलोमिटर सडक सञ्जाल रहेको छ । प्रतिवेदन बुझाउँदै सडक विशेषज्ञ कडेरियाले सडकहरुको नियमित मर्मतसम्भार गरेमा एक तिहाई खर्च कम भई नगरपालिकालाई आर्थिक भार कम हुने जानकारी गराएका थिए ।
समयमा सडकहरुको मर्मतसम्भार नहुँदा राज्यले ठूलो आर्थिक भार ब्यहोर्नु परेको उनले औंल्याए । ‘बिग्रेका सडकको तत्काल मर्मतसम्भार गरेमा एक तिहाइ खर्च कम हुन्छ,’ कडेरियाले भने ।
सडकको मर्मतमा कूल वजेटको १ देखि ३ प्रतिशत वजेट अनिवार्यरुपमा लगानी गरेमा मात्रै सडकको गुणस्तर कायम हुने कडेरियाको सुझाव छ ।
सबै स्थानीय तह, प्रदेश र संघीय सरकारले समयमै सडक मर्मत गर्ने परिपाटीको विकास गरेमा राज्यको ठूलो वजेट वचत हुने कडेरियाले सुझाए ।
कृष्णनगरका नगर प्रमुख शाहले विज्ञहरुको प्रतिवेदनका सुझाव अनुसार सडकको नियमित मर्मतसम्भारका लागि वजेट विनियोजन गरिने बताए ।
नगरका सबै सडकहरुको प्राविधिकमार्फत नियमित अनुगमन गरी समयमै मर्मत गरेर बजेट सदुपयोग गर्ने शाहले बताए ।
सडक विशेषज्ञ गम्भीर श्रेष्ठले सडक समयमै मर्मतसम्भार गर्ने हो भने भबिष्यमा हुने ठूलो रकम बचत हुने र सडकको आयु बढ्ने बताए ।
कृष्णनगरका प्रमुख योजना अधिकृत प्रदिप चौधरीले अध्ययनपछि सडकको बस्तुस्थिति वेबसाइटमार्फत विश्वका जुनसुकै ठाउँबाट हेर्न सक्ने गरी राखिने र सडक सम्पत्तिको गुणस्तर र मर्मतसम्भारलाई नीति तथा कार्यक्रम र वजेटमा प्राथमिकता दिइने बताए ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ७ : ३० बजे