९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा संस्कृतिसहितको ‘होमस्टे’ सञ्चालन गरौंः पूर्व मन्त्री खनाल



मायादेवी अनलाइन, चारनम्बर ।
पूर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले कपिलवस्तु जिल्ला संस्कृतिको विशिष्ट रुप भएको बताउनु भएको छ । तराईका जिल्लाहरुमध्ये कपिलवस्तु विशिष्ट हुनुमा यहाँका कला र संस्कृति महत्वपूर्ण भएको उहाँको भनाई छ ।
वाणगंगा नगरपालिका वडा नम्बर २ को आयोजनामा पिपरामा मङ्गलबार भएको प्रथम माघी तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै पूर्व मन्त्री खनालले आदिबासी जनजाती, मधेशी, थारु, मगर, नेवार, तामाङ, क्षेत्री लगायतका जातिको संस्कृतिले धनी जिल्ला भएकाले यसको विशिष्ट पहिचान भएको बताउनु भयो ।
आदिवासी जनजातीका हक अधिकार संविधानमा नै उल्लेख भएकाले उनीहरुको विकास र संरक्षणमा राज्यका तिन तहका सरकारले ध्यान दिन जरुरी रहेको खनालको भनाई छ । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका खनालले बाणगंगा नगरपालिकामा संस्कृति सहितको होमस्टे भएमा पर्यटनमा टेवा पुग्ने बताउँदै भन्नुभयो–“चितवनमा संस्कृति सहितको होमस्टे छ । त्यहाँ संसारभरका मानिसहरु आएर बसोबास गर्छन् । त्यहाँ प्रस्तुत हुने सांस्कृतिक पहिचानले विश्वको मन तानेको छ । अब बाणगंगामा पनि त्यही स्तरको होमस्टे संचालन गर्नु पर्दछ ।” नगरका नन्दनगर, कपिलधाम, राजापानीजस्ता ठाउँ होमस्टेको लागि उत्तम भएकाले त्यसको लागि आफुले बजेट कमी हुन नदिने बताउनु भयो ।
प्रदेश सांसद विष्णु पन्थीले संस्कृतिको ब्यापार गर्न सके नगरको विकास छिट्टै हुने बताउनु भयो । नगरमा आदीबासी जनजातीहरुको बाहुल्यता रहेको बताउँदै सांसद पन्थीले थारु र आदीबासी जनजातिको संस्कृतिलाई विशिष्कृत गरेर संस्कृतिको ब्यापार गर्न सकिने धेरै आधार रहेको उहाँको भनाई छ । विगतका बर्षहरुदेखि नगरको बजेटमा यस्ता कार्यक्रम भए आफै खर्च जुटाएर यस्ता कार्यक्रम गर्न उहाँको सुझाव छ ।
नगरका उप–प्रमुख चक्र अर्यालले थारु र आदिवासीको संस्कृति संरक्षणमा नगरले सँधै सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा थारु कल्याण कारिणी सभाकी केन्द्रिय सदस्य सुमित्रा थारु, नेपाल मगर संघ जिल्ला अध्यक्ष मोहन सिंजाली लगायतले बोल्दै आदिबासी र जनजातिहरुलाई अझै पनि राज्यले विभेद गरेको बताउनु भएको थियो ।
कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत चुडामणी पन्थी, नगरका प्रवक्ता तथा वडा नम्बर २ का वडाध्यक्ष विष्णु पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष भिष्मराज भुसाल, शिक्षा शाखा प्रमुख खिम बहादुर जिसी, थारु कल्याण कारिणी सभाका केन्द्रिय सदस्य जंजिर प्रसाद थारु लगायतको सहभागिता थियो । कार्यक्रममा आदिबासी तथा जनजातिका बिभिन्न सांस्कृतिक प्रस्तुति पनि प्रदर्शन गरिनुका साथै राष्ट्रिय कलाकारले पनि प्रस्तुती देखाएका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ७ : २३ बजे