९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा बालबालिकाको प्रदेश स्तरीय भेला



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको वाणगंगामा प्रदेश स्तरीय बालसंजालहरुको भेला मङ्गलबारदेखि शुरु भएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा १२ जिल्लाका बालसंजालका प्रतिनिधीहरुको सहभागीतामा २ दिने भेला सुरु भएको हो ।
भेलाको उद्घाटन गर्दै सामाजिक विकास मन्त्री सुदर्शन बरालले वालमैत्री प्रदेश निर्माणका लागि मन्त्रालयले काम शुरु गरेको जानकारी दिनुभयो । मन्त्री बरालले प्रदेश सरकारले वालवालिका सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत स्पष्ट पार्नुभयो । उहाँले बालबालिकाको क्षेत्रमा प्रदेशमा बालश्रम र बालविवाह कुसँस्कार विरुद्ध अभिभावकलाई सचेतना गर्ने काम समेत गरिरहेको बताउनुभयो ।
५ नं. प्रदेशमा बालबालिकाको संरक्षणमा ठोस योजना निर्माण गरेर नयाँ कामको थालनी गरिने मन्त्री बरालले स्पष्ट पार्नुभयो । प्रदेशमा रहेका अनाथ बालबालिकालाई कम्तीमा १२ कक्षासम्म पढाउने नयाँ कार्यक्रम ल्याउने योजना समेत बनेको छ, उहाँले भन्नुभयो, “त्यसका लागि स्थानीय र प्रदेश सरकार मिलेर गर्न सकिन्छ ।” सडक बालबालिका, अनाथ बालबालिकाको हेरचाह र पुर्नस्थापनाका लागि ठोस योजना निर्माण गरेपछि मात्र अन्य सहयोगी निकायसंग पनि सहकार्य गरेर जाने उहाँले बताउनुभयो ।
मन्त्रालयले बाल अधिकारको क्षेत्रमा पैरवी, सचेतना तथा नीतिगत निर्णय जस्ता कार्य गरिरहेको बताउँदै विषयगत मन्त्रालयका योजना र कार्यक्रममा समेत बालबालिकाको सवाललाई समावेश गर्ने कार्यमा मन्त्रालयले पैरवी गरिरहेको स्पष्ट पार्नुभयो ।
अवका बालबालिकाको भविष्य धेरै सुन्दर रहेको चर्चा गर्दै मन्त्री बरालले बालबालिकाको क्षमता र प्रतिभाको उजागर गर्ने उपर्युक्त वातावरण र अवसर सिर्जना गरेमात्र बालबालिकाले धेरै उपलब्धी हासिल गर्ने स्पष्ट पार्नुभयो ।
प्रदेश मामिला तथा कानुन समितिकी सभापति दामा कुमारी शर्माले, प्रदेश सांसद विष्णु पन्थीले कार्यक्रमको सफलताको शुभकामना दिदै बालबालिका भनेका बर्तमान र भविष्यका कर्णधार भएकाले उनीहरुको उचित संरक्षणका लागि उपर्युक्त परिवेश निर्माण गर्नुपर्ने आवश्यकता बताउनुभएको छ ।
वाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले अधिकांश सुचांकहरु पुरा भईसकेकोले अब केहि दिनमै यो नगरलाई वालमैत्री नगरपालिका निर्माण गरिने बताउनुभयो । बुद्ध जन्मस्थल “लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ” भन्ने मुल नाराका साथ वाणगंगा १ वैरियामा रहेको मायादेवी रिसोर्टमा सुरु गरिएको उक्त अन्तरक्रिया कार्यक्रममा प्रदेशका १२ जिल्लाबाट ६० जना बालबालिकाहरुको सहभागिता रहेको छ ।
कपिलवस्तु, दाङ, रुपन्देही, पाल्पा र प्युठान गरि ६ जिल्लाका सामाजिक डिभिजन कार्यालयका प्रमुख समेतको सहभागीता रहेको छ । भेला तथा अन्तरकृया कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव गोपीकृष्ण खनालको अध्यक्षतामा, सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्यालको स्वागत तथा मन्त्रालयका शाखा अधिकृत सञ्जय ज्ञवालीको सञ्चालन रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ७ : १५ बजे