९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

चीनबाट नेपाली फर्कने भएपछि खरिपाटीमा संचारकर्मीलाई निषेध



भक्तपुर ।

चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीमा रहेको नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चाररकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि त्यहाँ रहेका नेपालीहरुलाई सरकारले स्वदेश फर्काएर खटिपाटीमा रहेको प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई मङ्गलबारदेखि मुल गेटबाटै प्रवेशमा रोक लगाएको हो ।

समाचार सङ्कलनका लागि खरिपाटीको प्राधिकरण पुगेका सञ्चारकर्मीहरुलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनु भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरि फर्किएका छन् ।

सरकारले खटिपाटीको विकल्प नदेखेर बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र भक्तपुरका राजनीतिक दलहरुले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक (एसपी) सविन प्रधानले चीनबाट फर्काइने नेपालीहरु राख्ने ठाउँहरुमा धमाधम काम भइरहेको र पत्रकारहरु आउँदा ’डिस्टर्ब’ हुने भएकाले रोक लगाएको बताउनुभयो ।

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ८ : १३ बजे