९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

गृहमन्त्री थापाका साइँला भाइ नरेशलाई थुनामा राख्न आदेश



काठमाण्डौँ ।
उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ। उच्च अदालत पाटनले बिहीबार थापालाई थुनामा राख्न आदेश दिएको हो। मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमको इजलासले यसअघि जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै थापालाई थुनामा राख्न आदेश दिएको हो।

रजिष्ट्रार बाबुराम दाहालका अनुसार थापालाई तत्काल प्राप्त प्रमाणका आधारमा धरौटी माग्ने जिल्ला अदालतको आदेश बेरितको रहेको ठहर उच्च अदालतले गरेको छ।‘अन्य प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्नु भएको आदेश भएको सन्दर्भमा निजलाई पनि थुनामै राख्नुपर्नेमा धरौटी माग गर्ने त्यस अदालतको आदेश बेरितको देखिँदा बदर गरिएको छ,’ आदेशमा भनिएको छ, ‘मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम निजलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नू।’

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा चलाइएकोमा असोज १ गते जिल्ला अदालत काठमाडौंले एक लाख रूपैयाँ धरौटीमा छोडेको थियो। न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ धरौटीमा छाड्न आदेश दिएको थियो।बस्नेत नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्यामा दोषी ठहरपछि सुन्धारा कारागारमा छन्। गौचनको २०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगरमा दिउँसै हत्या भएको थियो।

बस्नेत समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले प्रहरीले मुद्दा अघि बढाएपछि थापा गत भदौमा आफैं प्रहरीको सम्पर्कमा गएका थिए।केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार निर्माण व्यवसायीलाई फोन गरेर ‘पैसा नदिए जे पनि हुने’ भन्दै धम्की दिने कार्यमा नरेश जोडिएका थिए।

दुई वा दुईभन्दा बढी व्यक्ति व्यक्तिको संलग्नतामा अपराध भएको देखिए प्रहरीले संगठित अपराधमा मुद्दा अदालत लैजाने गरेको छ।विभिन्न २५ जना ठेकेदारलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेको थियो। ब्युरोले पवन खड्का र सुरेन नगरकोटी राजधानीबाट पक्राउ गरेको थियो। पक्राउ परेकाले गृहमन्त्रीका भाइ पोलेपछि उनीविरुद्ध नै मुद्दा लगिएको थियो।

सो प्रकरणमा थापासहित छ जना प्रतिवादी थिए। समीरमान जेलभित्रैबाट गैरकानुनी असुलीमा आफ्नो समूह प्रयोग गरिरहेको सूचना पाएपछि प्रहरीले खड्का र नगरकोटीलाई पक्राउ गरेको थियो। उनीहरूले गृहमन्त्रीका साइँला भाइ नरेशको नाम लिएका थिए।जेल चलानको आदेश भए पनि थापा कहाँ छन् भन्ने विषयमा प्रहरी अनभिज्ञ देखिएको छ। महानगरीय प्रहरी परिसर ललितपुर र ब्युरो दुबैले आदेश भएकोबारे जानकारी नै पाएका छैनन्। हुन पनि थापालाई थुन्ने आदेश भएको चार दिनपछि मात्रै जानकारीमा आएको छ।ब्युरो प्रमुख निरजबहादुर शाहीले कानुन कार्यान्वयनको लागि थापाको खोजी थालिने बताए। थापा कहाँ छन् भन्ने थाहा हुन सकेको छैन। सेतोपाटीबाट साभार

प्रकाशित मिति : २८ माघ २०७६ मंगलबार ००:००  ६ : ३६ बजे