९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विजयनगरको छैठौँ गाउँ सभाः योजनाहरुलाई पारदर्शी बनाउन जोड



राम प्रकट कोरी, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको छैठौँ गाउँ सभा सोमवार सम्पन्न भएको छ । उक्त गाउँ सभाले आव २०७६÷०७७ को अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको हो । बजेटको संशोधन आएपछि वडा र गाउँपालिकाबाट कार्यान्वयन हुन नसकेका र केही आवश्यक देखिएका योजनाहरुमा थप बजेट विनियोजन गरिएको छ ।
आव २०७६÷०७७ को आन्तरिक आयस्रोतबाट पुस मसान्तसम्म ९९ लाख बैँक दाखिला भएको उल्लेख गरिएको छ । गाउँ सभाध्यक्ष गोपाल बहादुर थापाले कार्यक्रममा १ ओटा नियमावली, १० ओटा कार्यविधि र २ ओटा ऐन प्रस्तुत गर्नु भएको थियो र सो सर्वसम्मतिबाट पारित गरिएको छ ।
कार्यक्रममा २०७६ सालको स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र निर्णयार्थ, कर्मचारी कल्याणकारी कोष सञ्चालन, आर्थिक सहायता सम्बन्धि कार्यविधि, एम्बुलेन्स सेवा व्यवस्थापन तथा सञ्चालन, खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि, समपूरक कोष सञ्चालन तथा व्यवस्थापन, मर्मत सम्भार कोष सञ्चालन निर्देशिका, यान्त्रिक उपकरण सञ्चालन सम्बन्धी कार्यविधि, स्थानीय विकास कोष स्थापना तथा सञ्चालन कार्यविधि, विपद व्यवस्थापन कोष सञ्चालन तथा व्यवस्थापन, व्यवसाय कर सम्बन्धी कार्यविधि, घर बहाल कर सम्बन्धी कार्यविधि लगायत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई समापन गर्दै गाउँ सभाध्यक्ष गोपाल बहादुर थापाले अति आवश्यक गर्नु र सञ्चालनमा रहेका योजनाहरु आगामी जेठ मसान्तभित्र सम्पन्न गने गर्री कार्ययोजना बनाएर लाग्न अनुरोध गर्नु भयो । योजनाहरुलाई पारदर्शी बनाउने, इमान्दरी पूर्वक सम्पन्न गराउने र सबैको जवाफदेहिता रहोस भन्ने कुरामा जोड दिनु भयो ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले कतिपय ऐन, कार्यविधि र निर्देशिका नहुँदा कार्य गर्न असहज हुने भएकोले सभाबाट सर्वसम्मतिले पारित भएकोले कार्यान्वयन गर्न सजिलो हुने बताउनु भयो । यसरी सम्पूर्ण मातहतका कर्मचारीलाई चुस्त दुरुस्त बनाई कार्य गर्न अनुरोध समेत गर्नु भएको थियो ।

प्रकाशित मिति : २७ माघ २०७६ सोमबार ००:००  ५ : १० बजे